युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला गरेको बताएको छ ।
सो हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन् । युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरु सार्वजनिक भएका छन् । सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ ।
यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आक्रमणकारीबीच भएका लडाइँका भिडियो फुटेज सार्वजनिक गरेको छ ।
२ लाख ६० हजार मानिसहरुको बसोबास रहेको सुमी रुसी सीमाबाट करिव ३० किलोमिटर टाढा रहेको क्षेत्रीय राजधानी हो । स्थानीय प्रशासनका प्रमुख दिमित्रो झाइभातस्काइले ठूलो संख्यामा रुसी कन्भोय राजधानी किभतर्फ प्रस्थान गरेको बताए । नजिकको सहर कोनोटपलाई रुसी सेनाले घेरा हालेको पनि उनले बताए ।
रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।
















