निप्पोन फर्मास्युटिकल लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सुम्पेको छ। सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल विश्व स्वास्थ्य संगठन (WHO)-GMP तथा अन्य अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुरूप विभिन्न प्रकारका जीवनरक्षक औषधीहरूको उत्पादनमा संलग्न छ।
कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधी, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनजस्ता अत्यावश्यक औषधीहरूको उत्पादन गरिरहेको छ। सन् २००६ मा विधिवत् दर्ता भएको र सन् २०१७ मा उद्योग स्थापना गरेको निप्पोन फर्मास्युटिकलले स्थापनाको पाँच वर्षपश्चात्, सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरणमा सक्रियता देखाएको हो। व्यावसायिक उत्पादन सुरु भएको चार वर्षको अवधिमा कम्पनीले ६० भन्दा बढी विविध थेराप्युटिक सेगमेन्टका उत्पादनहरू सफलतापूर्वक बजारमा ल्याएको छ।
“सबैका लागि सु–स्वास्थ्य” (Wellbeing for All) भन्ने मूल नारालाई आत्मसात् गर्दै सञ्चालित यस कम्पनीले स्वदेशी औषधी उत्पादनलाई प्रोत्साहन गरी मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउनुका साथै राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ तुल्याउने लक्ष्य लिएको छ। नेपाली औषधी बजारको माग सम्बोधन गर्ने प्रमुख उद्देश्यका साथ कम्पनीले गुणस्तरीय औषधीजन्य उत्पादनहरूको विकास र उत्पादनमा निरन्तर योगदान पुर्याउँदै आएको छ।














