×
Lagani
Lagani Shiksha gif
बीमा दाबी स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ को विकास



सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । नेपाल बीमा प्राधिकरणले यसको परीक्षण गरिसकेको बताइएको छ ।

सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो । नयाँ स्वचालित प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका आइटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइँदैछ । त्यसपछि सर्भेयरलाई पनि स्वचालित प्रणालीसम्बन्धी तालिम दिइनेछ । त्यसैगरी यस प्रणालीमा पुनरबीमा कम्पनीलाई पनि समेट्ने योजना रहेको बताइएको छ ।

Lagani Shiksha gif
sharehubapk बीमा दाबी स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम' को विकास

सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोटलाई पारदर्शी बनाउने उद्देश्यले उक्त प्रणालीको विकास गरिएको हो । हाल सर्भेयर छनोट गर्दा वैज्ञानिक र पारदर्शी नहुने, एउटै सर्भेयरले बढी र कम काम पाउनेलगायतका गुनासो आउने गरेको सन्दर्भमा यो प्रणालीको विकासले महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था भए पनि उनीहरूले पाएको कामको प्रभावकारी तथ्यांक राख्न कठिन भइरहेको अवस्था छ । हाल यस प्रणालीमा ८८ जना संस्थागत र बाँकी व्यक्तिगत गरी ६८० सर्भेयरको तथ्यांक प्रविष्ट भइसकेको छ ।

त्यसैगरी बीमा कम्पनीले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत आउने गरेको छ । यही अवस्थालाई सुधार गर्दै सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता, समान अवसर र जवाफदेहिता कायम गर्ने उद्देश्यले प्राधिकरणले स्वचालित प्रणाली विकास अघि बढाएको हो ।

हाल नयाँ प्रणालीमा सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक स्थान, पोर्टफोलियो तथा यसअघि पाएको कामलगायतका विवरण राख्ने काम पूरा भइसकेको छ । कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित ‘केस’का लागि कुन सर्भेयर उपयुक्त हुन्छ भन्ने निर्णय प्रणालीले तोकिएका मापदण्डका आधारमा गर्नेछ ।

उदाहरणका लागि कुनै सवारी दुर्घटनासम्बन्धी दाबी आएमा उक्त विषयमा विज्ञता भएको, सम्बन्धित स्थानमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ । यसबाट बीमा कम्पनीका अधिकारीले प्रत्येक पटक म्यानुअल्ली सर्भेयर छनोट गर्नुपर्ने अवस्था घट्नेछ र सर्भेयर खटाउने प्रक्रिया स्वचालित बन्नेछ ।

प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, बीमा सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव लिइएको थियो । त्यसपछि सर्भेयर छनोटका आधार र प्यारामिटर तयार गरी सफ्टवेयर विकासको काम अघि बढाइएको हो ।

अहिले प्रणालीमा बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन् । प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिनेछ । प्राधिकरणले फायरवाल, भिएपिटीपीलगायतका सुरक्षा परीक्षण गरिने जनाएको छ ।

नयाँ प्रणालीले तोकिएका मापदण्डका आधारमा स्वचालित रूपमा सर्भेयर छनोट गर्नेछ । यसले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अरू सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थालाई पहिचान गर्न र नियन्त्रण गर्न सहयोग पुग्नेछ । सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ट्रयाक गर्न सकिनेछ ।

यस प्रणालीले बीमा दाबीको प्रक्रियामा समय र लागतसमेत घटाउनेछ । अहिले कतिपय अवस्थामा सर्भेयर छनोटमा देखएको समस्या, पुनः मूल्याङ्कन गर्नुपर्ने, दाबी प्रक्रियामा ढिलाइ हुने वा ग्राहकसँग विवादसँग सम्बन्धित समस्या समाधानमा थप सहज हुनेछ ।

प्रणालीले घटनाअनुसार उपयुक्त सर्भेयर छनोट गर्ने भएकाले यस्ता समस्या कम हुने र समय तथा लागत बचत हुनेछ । साथै कुन सर्भेयर कुन आधारमा छनोट भयो भन्ने विवरण प्रणालीमा रहने भएकाले निर्णय प्रक्रियाको पारदर्शिता र जवाफदेहिता बढ्नेछ ।

प्रणालीको विकासले दीर्घकालमा सर्भेयससम्बन्धी ठूलो परिमाणमा तथ्यांक सङ्कलन गरिने र यसबाट यससम्बन्धी नीति निर्माण गर्न सहयोग पुग्नेछ । साथै सर्भेयरले दिने सेवा प्रवाह र सेवाग्राहीले के कस्तो सेवा पाए भन्ने पनि अध्ययन गर्न सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस