नेपाली शेयर बजारसम्बन्धी सूचना, समाचार तथा लगानी शिक्षाका सामग्री प्रकाशन गर्दै आएको नेप्से बजारले सञ्चालन गरेको ‘लगानी शिक्षा’ प्लेटफर्ममा डिजिटल बुक सुविधा सुरु गरेको छ।
यस सुविधामार्फत प्रयोगकर्ताले शेयर बजारसँग सम्बन्धित विभिन्न विषयलाई अनलाइनमै पुस्तकको स्वरूपमा अध्यायगत रूपमा पढ्न सक्नेछन्। यसअघि ‘लगानी शिक्षा’ प्लेटफर्ममा ई–बुक, भिडियो कोर्स, क्विज, न्युजलेटर, टीएमएस सिमुलेटर तथा पोर्टफोलियो म्यानेजरजस्ता सुविधा उपलब्ध थिए। अब थपिएको डिजिटल बुक सुविधाले शेयर बजारका छुट्टाछुट्टै विषयलाई सानो र बुझ्न सजिलो पुस्तकका रूपमा अध्ययन गर्ने व्यवस्था गरेको छ।
डिजिटल किताब पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्
डिजिटल बुकमा शर्ट सेलिङ, इन्ट्राडे ट्रेडिङ, मार्जिन ट्रेडिङ, अड लट कारोबार, ओटीसी मार्केट, ब्लु चिप शेयर, बजार पूँजीकरण, प्रतिशेयर आम्दानी, डब्ल्यूएसीसी, बुक क्लोज, आईपीओ र बुक बिल्डिङ लगायत शेयर बजारमा प्रयोग हुने विभिन्न अवधारणालाई समेटिएको छ। आगामी दिनमा थप विषयसम्बन्धी डिजिटल पुस्तकसमेत क्रमशः थपिँदै जानेछन्।
प्रत्येक डिजिटल बुकलाई विषयअनुसार विभिन्न अध्यायमा विभाजन गरिएको छ। उदाहरणका लागि कुनै विषयको सामान्य परिचयदेखि त्यसले कसरी काम गर्छ, त्यससँग सम्बन्धित नाफा–घाटा, जोखिम, प्रयोग तथा व्यावहारिक पक्षसम्म चरणबद्ध रूपमा पढ्न सकिने व्यवस्था गरिएको छ। यसले एउटै विषयबारे आवश्यक जानकारी विभिन्न वेबसाइट वा सामग्रीमा खोजिरहनुपर्ने अवस्थालाई कम गर्दै व्यवस्थित रूपमा अध्ययन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
विशेषगरी शेयर बजारमा बारम्बार सुनिने तर धेरैलाई स्पष्ट रूपमा नबुझिएका शब्द तथा कारोबार प्रणालीलाई सरल नेपाली भाषामा बुझाउने उद्देश्यले डिजिटल बुक तयार गरिएको हो। प्रयोगकर्ताले आफूलाई आवश्यक विषयको पुस्तक छनोट गरेर त्यसका अध्याय क्रमशः पढ्न सक्नेछन्।
नेप्से बजारका अनुसार ‘लगानी शिक्षा’लाई केवल एउटा ई–बुकमा सीमित नराखी शेयर बजार सिक्न, अभ्यास गर्न र आफ्नै ज्ञान परीक्षण गर्न सकिने डिजिटल सिकाइ प्लेटफर्मका रूपमा विकास गर्ने काम भइरहेको छ। डिजिटल बुक सुविधा पनि यही योजनाअन्तर्गत थपिएको हो।
यसअघि सार्वजनिक गरिएको मुख्य ‘लगानी शिक्षा’ ई–बुकसँगै प्लेटफर्ममा निःशुल्क क्विज, भिडियो सामग्री, न्युजलेटर, टीएमएस सिमुलेटर तथा पोर्टफोलियो व्यवस्थापन सुविधा उपलब्ध छन्। अब डिजिटल बुकमार्फत प्रयोगकर्ताले आफूलाई आवश्यक परेको विषय मात्रै छनोट गरी छोटो समयमा त्यसबारे व्यवस्थित जानकारी लिन सक्नेछन्।















