सरकारले दीर्घकालीन सेयर लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले एक वर्षभन्दा बढी समय होल्ड गरिएको सूचीकृत सेयर बिक्रीबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाउने प्रस्ताव अघि सारेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा ३६५ दिनभन्दा बढी समय स्वामित्वमा रहेको सूचीकृत सेयर बिक्रीबाट प्राप्त लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। हाल ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरिएको सेयरमा ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था प्रस्तावमा राखिएको छ। दीर्घकालीन लगानीलाई थप आकर्षक बनाउने र पुँजी बजारमा लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यले विद्यमान कर व्यवस्थामा सुधारको प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, सेयर कारोबारमा भएको नोक्सानीलाई पनि लाभसँग समायोजन गर्न सकिने गरी पुँजीगत लाभकर गणना प्रणालीमा सुधार गर्ने प्रस्ताव गरिएको छ। नाफा र घाटा भएका कारोबार तथा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभमा मात्र पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न अध्ययनसहित आवश्यक सुधार गर्ने कार्ययोजनामा उल्लेख छ।
प्रस्तावित व्यवस्थाअनुसार कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति तथा बासिन्दा निकायले सोही आय वर्षमा सूचीकृत धितोपत्र कारोबारबाट भएको नोक्सानीलाई सोही कारोबारबाट प्राप्त लाभसँग समायोजन गर्न सक्ने व्यवस्था ल्याउने तयारी गरिएको छ।
यसबाट कारोबारमा भएको कुल नाफाभन्दा वास्तविक अर्थात् खुद नाफाका आधारमा मात्र पुँजीगत लाभकर गणना गर्ने व्यवस्था लागू हुने अपेक्षा गरिएको छ। अर्थ मन्त्रालयले पुँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारलाई थप व्यवस्थित र लगानीमैत्री बनाउने उद्देश्यले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको हो।














