×
Lagani
Lagani Shiksha gif
निःशुल्क सीप सिक्ने ठूलो अवसर, प्लम्बिङदेखि ब्युटिसियनसम्म तालिमका लागि आवेदन खुल्यो



राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, व्यावसायिक प्रशिक्षण केन्द्र बुटवल, रुपन्देहीले विभिन्न ७ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

केन्द्रले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो। केन्द्रले २०८३/०६/१९ गते पहिलोपटक सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ। केन्द्रका अनुसार प्लम्बिङ आधारभूत, इलेक्ट्रिकल, ब्युटिसियन एडभान्स, ब्युटिसियन आधारभूत, कटाई सिलाई एडभान्स, ब्युटिसियन आधारभूत तथा ब्युटिसियन एडभान्स गरी विभिन्न सीपमूलक तालिम सञ्चालन हुनेछन्। प्रत्येक तालिममा २० जनाका दरले सहभागी गराइने भएकाले कुल १४० जनाले तालिम लिने अवसर पाउनेछन्।

Lagani Shiksha gif
sharehubapk निःशुल्क सीप सिक्ने ठूलो अवसर, प्लम्बिङदेखि ब्युटिसियनसम्म तालिमका लागि आवेदन खुल्यो

प्लम्बिङ आधारभूत तालिमको अवधि ३२० घण्टा रहेको छ भने यसका लागि कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। यस तालिमका लागि अन्तर्वार्ता २०८३/०७/११ गते बिहान ११ बजे व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवलमा हुने जनाइएको छ। छनोटको नतिजा सोही दिन अपराह्न ४ बजेपछि प्रकाशन गरिनेछ भने तालिम २०८३/०८/०१ गते बिहान १० बजेबाट सञ्चालन हुने छ।

त्यसैगरी इलेक्ट्रिकल तालिमको अवधि पनि ३२० घण्टा रहेको छ र आवेदन दिन कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। यस तालिमका लागि अन्तर्वार्ता २०८३/०७/१२ गते बिहान ११ बजे व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवलमा हुने तथा नतिजा सोही दिन अपराह्न ४ बजेपछि प्रकाशन गरिने सूचनामा उल्लेख छ। तालिम २०८३/०८/०१ गते बिहान १० बजेबाट सुरु हुनेछ।

ब्युटिसियन एडभान्स तालिमका लागि कक्षा ८ उत्तीर्ण गरी ब्युटीसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्नेछ। यो तालिम १९५ घण्टाको हुनेछ र २० जनालाई सहभागी गराइनेछ। यसका लागि अन्तर्वार्ता २०८३/०७/१३ गते बिहान ११ बजे रुपन्देहीमा तोकिएको तालिम केन्द्रमा हुने तथा छनोटपछि तालिम २०८३/०८/०१ गतेबाट सञ्चालन हुने उल्लेख छ।

ब्युटिसियन आधारभूत तालिम पनि २० जनाका लागि सञ्चालन हुनेछ। ३२० घण्टाको उक्त तालिममा सहभागी हुन कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। यस तालिमका लागि अन्तर्वार्ता २०८३/०७/१८ गते बिहान ११ बजे बागनागाँव–६, कपिलवस्तुस्थित दुर्गा ब्युटी ट्रेनिङ सेन्टरमा हुने र तालिम २०८३/०८/०१ गतेबाट सुरु हुने केन्द्रले जनाएको छ।

कटाई सिलाई एडभान्स तालिम १९५ घण्टाको हुनेछ। यसमा सहभागी हुन कक्षा ८ उत्तीर्ण गरी कटाई सिलाईसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्नेछ। २० जनाका लागि सञ्चालन हुने उक्त तालिमको अन्तर्वार्ता २०८३/०७/१९ गते बिहान ११ बजे तिलोत्तमा–६, बुद्धचोक, रुपन्देहीस्थित ड्रेस डिजाइन एण्ड ट्रेनिङ सेन्टरमा हुने र तालिम २०८३/०८/०२ गते बिहान १० बजेबाट सञ्चालन हुने सूचनामा उल्लेख छ।

त्यस्तै अर्को ब्युटिसियन आधारभूत तालिम पनि ३२० घण्टाको रहेको छ। यसमा २० जनालाई सहभागी गराइनेछ र न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण तोकिएको छ। उक्त तालिमका लागि अन्तर्वार्ता २०८३/०७/१९ गते बिहान १० बजे शृंगार ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, तिलोत्तमा–५, देवचुली, रुपन्देहीमा हुने जनाइएको छ।

अर्को ब्युटिसियन एडभान्स तालिम १९५ घण्टाको रहेको छ। यसमा सहभागी हुन कक्षा ८ उत्तीर्ण गरी ब्युटीसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्नेछ। २० जनाका लागि सञ्चालन हुने यस तालिमको अन्तर्वार्ता २०८३/०७/१९ गते बिहान ११ बजे आदिती ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, सुनवल–४, नवलपरासीमा हुने सूचनामा उल्लेख छ।

केन्द्रले तालिममा सहभागी हुन इच्छुक व्यक्तिले सूचनामा उल्लेख गरिएका आवश्यक कागजातसहित तोकिएको समयभित्र आवेदन दिनुपर्ने जनाएको छ। आवेदन फाराम व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवलबाट प्राप्त गर्न सकिनेछ। साथै केन्द्रको वेबसाइटबाट फाराम डाउनलोड गर्न सकिने र आवेदन केन्द्रको इमेलमार्फत समेत पठाउन सकिने सूचनामा उल्लेख गरिएको छ।

केन्द्रले आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा तोकिएअनुसारका अन्य कागजातको प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेश गर्नुपर्ने जनाएको छ। छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुने भएकाले इच्छुक आवेदकले तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ।

सूचनामा तालिमका लागि छनोट भएका सहभागीले तालिम अवधिभर केन्द्रले तोकेको नियम पालना गर्नुपर्ने तथा तालिममा आवश्यक पर्ने सामग्री तथा अन्य व्यवस्थासम्बन्धी जानकारी सम्बन्धित केन्द्रबाट लिन सकिने उल्लेख छ। साथै म्याद नाघी प्राप्त भएका आवेदनमाथि कुनै कारबाही नगरिने केन्द्रले स्पष्ट पारेको छ।

fdfd निःशुल्क सीप सिक्ने ठूलो अवसर, प्लम्बिङदेखि ब्युटिसियनसम्म तालिमका लागि आवेदन खुल्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस