×
Lagani
Lagani Shiksha gif
नेपाल टेलिकमको दशैँ–तिहार अफर सार्वजनिक, इन्टरनेट जडानदेखि मोबाइल डाटासम्म छुट



नेपाल टेलिकमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विभिन्न छुट तथा बोनस सुविधासहितको ‘दशैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ।

अफरमा नयाँ फाइबर इन्टरनेट जडान गर्दा शुल्क छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिनाको सेवा तथा मोबाइल डाटा, भ्वाइस र एसएमएसका सहुलियत प्याकेज समावेश छन्। कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर टु द होम (एफटीटीएच) प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्। यसैगरी, १००, १५० र २०० एमबिपिएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा प्राप्त गर्नेछन्। अर्थात्, १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट प्रयोग गर्न सकिनेछ।

Lagani Shiksha gif
sharehubapk नेपाल टेलिकमको दशैँ–तिहार अफर सार्वजनिक, इन्टरनेट जडानदेखि मोबाइल डाटासम्म छुट

भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा भने एक हजार रुपैयाँ छुटको सुविधा यसअघि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोबाइल डाटा प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले ४९९ र ६९९ रुपैयाँका दुई विशेष प्याकेज पनि ल्याएको छ। जिएसएम मोबाइल सेवाका ग्राहकले ४९९ रुपैयाँमा दैनिक पाँच जीबी उच्च गतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज खरिद गर्न सक्नेछन्। त्यस्तै, ६९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा दैनिक १० जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ।

यी प्याकेजमा तोकिएको दैनिक उच्च गतिको डाटा सकिएपछि पनि इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था छ। ४९९ रुपैयाँको प्याकेजमा दैनिक पाँच जीबी डाटा खपत भएपछि बाँकी अवधिमा दुई एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ। ६९९ रुपैयाँको प्याकेजमा दैनिक १० जीबी डाटा सकिएपछि तीन एमबिपिएस गतिमा असीमित डाटा उपलब्ध हुनेछ। डाटा प्याकेजसँगै कम्पनीले भ्वाइस कल र सन्देश सेवामा पनि सहुलियत दिएको छ। २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटसहितको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ। त्यसैगरी, ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ।

कम्पनीका अनुसार यी मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ। मोबाइल सेवाअन्तर्गतका अफर प्रयोग गर्न चाहने ग्राहकले कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्न सक्नेछन्। पर्वको समयमा इन्टरनेट, फोन कल तथा सन्देश सेवाको प्रयोग बढ्ने भएकाले नेपाल टेलिकमले ग्राहकलाई लक्षित गरी यी योजना ल्याएको हो। इन्टरनेट जडान गर्ने योजना बनाइरहेका तथा नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्ने ग्राहकका लागि अफर उपयोगी हुन सक्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस