×
Lagani
Lagani Shiksha gif
दसैँका लागि नयाँ नोट साट्न कहाँ जाने ?



दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ।

यस वर्ष विगतमा जस्तो नयाँ नोट सटहीका लागि निश्चित मिति तोकेर छुट्टै कार्यक्रम सार्वजनिक नगरिए पनि इच्छुक नागरिकले राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि नै नयाँ नोट सटहीको व्यवस्था उपलब्ध छ। सर्वसाधारणले राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थाले समेत सर्वसाधारणलाई वितरण गर्न राष्ट्र बैंकबाट नयाँ नोट प्राप्त गरिसकेका छन्।

Lagani Shiksha gif
sharehubapk दसैँका लागि नयाँ नोट साट्न कहाँ जाने ?

यस वर्ष नयाँ नोट सटहीका लागि विगतमा जस्तो निश्चित दिन कुर्नुपर्ने व्यवस्था गरिएको छैन। सार्वजनिक बिदाबाहेकका दिनमा इच्छुक नागरिकले बैंक तथा वित्तीय संस्थामा पुगेर नोट साट्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार नयाँ नोट साट्न आउने सर्वसाधारणलाई सामान्यतया एक वा दुई सेटसम्म नयाँ नोट उपलब्ध गराउने गरिएको छ। ठूलो परिमाणमा नोट आवश्यक पर्ने व्यक्तिलाई भने मागअनुसार सबै नोट नयाँ नै उपलब्ध नहुन सक्छन्। त्यस्तो अवस्थामा सफा तथा सुकिला नोट उपलब्ध गराउन सकिने व्यवस्था छ।

नबिल बैंकले पनि आफ्ना विभिन्न शाखाबाट दसैँका लागि नयाँ नोट सटही सुरु गरेको छ। यससँगै अन्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था रहेकाले सर्वसाधारणले आफूलाई सहज पर्ने बैंकमा सम्पर्क गर्न सक्छन्। यद्यपि, सबै शाखामा एकै समयमा नयाँ नोट उपलब्ध हुने वा मौज्दात समान हुने सुनिश्चितता छैन। त्यसैले बैंकमा जानुअघि सम्बन्धित शाखामा सम्पर्क गरी उपलब्धता बुझ्नु उपयुक्त हुन्छ।

यस वर्ष नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाट समेत १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन निर्देशन दिएको छ। त्यसपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्। यद्यपि, सबै एटीएममा यस्तो सुविधा उपलब्ध भइसकेको छैन।

दसैँमा टीका लगाएर दक्षिणा दिने, पूजाआजा गर्ने तथा अन्य सांस्कृतिक गतिविधिका लागि साना दरका नोटको माग बढ्ने गर्छ। यही मागलाई ध्यानमा राख्दै राष्ट्र बैंकले नयाँ नोट सटहीका साथै सफा तथा सुकिला नोटको उपलब्धतालाई पनि सहज बनाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले पछिल्ला वर्षमा नयाँ नोट छपाइ, भण्डारण तथा वितरणमा लाग्ने खर्च घटाउने र प्रयोगमा रहेका सफा नोटको उपयोग बढाउने प्रयास गर्दै आएको छ। यस वर्ष पनि नोट सटहीका लागि छुट्टै तामझामयुक्त कार्यक्रमभन्दा नियमित बैंकिङ प्रणालीमार्फत सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

नयाँ नोट साट्न चाहने सर्वसाधारणले नजिकको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर आवश्यक जानकारी लिन सक्छन्। नोटको उपलब्धता, सटहीको सीमा र शाखाको सेवा समयबारे पहिले नै बुझ्दा अनावश्यक रूपमा बैंक धाउनुपर्ने अवस्था कम गर्न सकिन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस