राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।
पार्टीले छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ। सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई पार्टीले गम्भीर र संवेदनशील रूपमा लिएको उल्लेख गरेको छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसक्ने जनाएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन टुङ्गोमा नपुग्दासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीको भनाइ छ।
यस विषयमा राज्यका सम्बन्धित निकायबाट पनि अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पार्टीले व्यक्त गरेको छ। राज्यका निकायले सञ्चालन गर्ने अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत विज्ञप्तिमार्फत जनाएको छ।
कानुनभन्दा माथि कोही पनि नहुने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ। कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने पार्टीको प्रतिबद्धता पनि विज्ञप्तिमा दोहोर्याइएको छ।














