बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको नक्कली परिचय दिएर केवाईसी (KYC) अद्यावधिक गर्ने बहानामा सर्वसाधारणको खाताबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यस घटनामा हालसम्म २२ वटा उजुरी परेका छन् भने ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैरगनिया घर भई गौर नगरपालिका–३ मा बस्दै आएका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले पीडितका उजुरीमाथि अनुसन्धान गर्ने क्रममा असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार आरोपितहरूले विभिन्न बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए। खाताको केवाईसी अद्यावधिक गर्नुपर्ने भन्दै उनीहरूले सेवाग्राहीलाई भिडियो कलमा जोड्ने, मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र गुगल फारममार्फत बैंकिङ विवरण माग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसरी प्राप्त ओटीपी, पासवर्ड तथा अन्य गोप्य विवरण प्रयोग गरी पीडितको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर रकम निकाल्ने वा अन्य खातामा स्थानान्तरण गर्ने गरेको प्रहरीको भनाइ छ।
यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले नगद, मोबाइल फोन तथा बैंकिङ कारोबारसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको छ। पक्राउ परेकाहरूबाट एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ र तीन हजार २३६ भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, तीन थान एटीएम कार्ड र विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० थान रकम जम्मा गर्ने भौचर बरामद भएका छन्।
प्रहरीले प्रभु बैंकको १६ हजार रुपैयाँ उल्लेख भएको एउटा चेक र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँ उल्लेख भएको अर्को चेक पनि फेला पारेको जनाएको छ। यसबाहेक विभिन्न बैंकका चेकबुक, डायरी, कापी, पेनड्राइभ, मेमोरी कार्ड तथा सर्वसाधारणका बैंकिङ विवरण लेखिएका कागजातसमेत बरामद गरिएको छ। ती सामग्रीको परीक्षणबाट ठगीको कार्यशैली र आर्थिक कारोबारबारे थप विवरण खुल्न सक्ने प्रहरीको अपेक्षा छ।
घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहे–नरहेको र ठगी गरिएको रकम कहाँ तथा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।














