×
Lagani
Lagani Shiksha gif
आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले?



न्यूज कारखाना

रौतहट, १० असोज । माता जानकीको जन्मथलोको रूपमा परिचित जनकपुरधाम नेपालमा मात्र नभई संसारमै धार्मिक आस्था, मिथिला संस्कृति र ऐतिहासिक पहिचानले समृद्ध सहर हो। सोह्रश्राद्ध, छठ, विवाहपञ्चमी लगायतका पर्वमा यहाँका गंगासागर, धनुषसागरलगायतका पवित्र पोखरीमा हजारौँ श्रद्धालु पुग्छन्।

Lagani Shiksha gif
sharehubapk आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले?

तर, धार्मिक पर्यटकीय नगरीको पहिचान बनाउँदै गएको मधेश प्रदेशको राजधानी जनकपुरधाममा श्रद्धालुका लागि आवश्यक आधारभूत पूर्वाधारको अभाव भने अझै देखिन्छ।

जनकपुरकी महिला पत्रकार रिंकु मिश्रा (गायत्री) ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमार्फत यही अवस्थामाथि प्रश्न उठाएकी छन्। विशेषगरी महिला श्रद्धालुले स्नानपछि कपडा फेर्न सुरक्षित र गोप्य स्थान नपाउँदा भोग्नुपरेको असहजतालाई उनले गम्भीर विषयका रूपमा उठाएकी हुन्।

स्नानपछि महिलाहरूले खुला ठाउँमा वा भिजेकै कपडामा कपडा परिवर्तन गर्नुपर्ने अवस्था हुनु व्यक्तिगत गोपनीयता, सहजता र मर्यादासँग जोडिएको विषय हो। धार्मिक आस्था बोकेर आउने श्रद्धालुलाई आधारभूत सुविधाकै अभावमा असहज परिस्थितिबाट गुज्रनुपर्ने अवस्था आउनु आफैँमा विचारणीय छ।

जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने चर्चा र योजना लामो समयदेखि हुँदै आएका छन्। तर, त्यस्ता ठूला योजनासँगै महिला श्रद्धालुका लागि सुरक्षित चेन्जिङ रुम, व्यवस्थित शौचालय, सुरक्षित स्नानघाट र आवश्यक सरसफाइको व्यवस्था जस्ता आधारभूत आवश्यकता पनि प्राथमिकतामा पर्नुपर्ने देखिन्छ।

ठूला संरचना र पर्यटन प्रवर्द्धनका योजना आफ्नो ठाउँमा महत्वपूर्ण छन्। तर, धार्मिकस्थलमा आउने श्रद्धालुले दैनिक रूपमा भोग्ने साना–साना समस्याको समाधान नगरी पर्यटनको आकर्षण र अन्तर्राष्ट्रियस्तरको गन्तव्य बनाउने लक्ष्य कति प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि उठ्छ।

विशेषगरी पर्व तथा धार्मिक उत्सवका बेला श्रद्धालुको संख्या बढ्ने भएकाले स्थायी संरचना निर्माण हुन नसकेको अवस्थामा पनि अस्थायी चेन्जिङ रुम, मोबाइल शौचालय, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सुरक्षित स्नानस्थल र स्वयंसेवक परिचालन जस्ता तत्कालीन व्यवस्थापन गर्न सकिन्छ।

पत्रकार रिंकु मिश्राले उठाएको प्रश्नलाई व्यक्तिगत गुनासोका रूपमा मात्र नभई जनकपुरधामको धार्मिक पर्यटन र महिला श्रद्धालुको सम्मानसँग जोडिएको सार्वजनिक सरोकारको विषयका रूपमा लिन आवश्यक छ।

आस्थाको केन्द्रमा पुग्ने श्रद्धालुले कम्तीमा आफ्नो मर्यादा र गोपनीयता सुरक्षित भएको अनुभूति गर्न पाउने वातावरण बनाउने जिम्मेवारी कसको हो? जनकपुरधामका सरोकारवाला निकायले अब यो प्रश्नको जवाफ काममार्फत दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस