चितवनमा बन्दको सामान्य प्रभाव, नेकपाका जिल्ला अध्यक्षसहित ११ जना पक्राउ

खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको चितवनमा सामान्य प्रभाव परेको छ ।

बजारमा अधिकांश पसल बन्द भएका छन् । मालबाहक र लामो दूरीका यात्रुबाहक गाडी छिटपुट चलेका छन् । मोटरसाइकल र अटोहरू भने सदाझै निर्वाध चलेका छन् । केही यात्रु हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । शिक्षण संस्था बन्द छन् । विद्यालय गएका विद्यार्थीहरू पनि घर फर्किएका छन् ।

बन्द गराउन गाडीको चाबी खोस्न खोज्ने र टायर बाल्न खोज्ने ११ जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

‘जबर्जस्ती गाडीको चाबी खोस्न खोज्ने नौजनालाई नारायणगढ लायन्सचोकबाट पक्राउ गरेका हौँ । अरु दुईजना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन्’, उनले भने । जिल्लामा अहिले बन्दको प्रभाव सामान्य रहेको उनले बताए ।

आज बन्द आह्वान गरिएपनि सबै सरकारी कार्यालयहरू खुल्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘सरकारी कार्यालयहरू हिजोअस्ति जस्तै आज पनि खुल्छन् । केहीले स्वस्फुर्त रूपमा गाडीहरू चलाउनु भएको छैन । राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।