


किभ–युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बिस्फोटहरु गराइएका छन् ।
रुसी सेनाले गराएका ति बिस्फोटका कारण राजधानीवासी आतंकित बनेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरु भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।
त्यस लगत्तै दुई ओटा बिस्फोटहरु मेट्रो स्टेसनहरुमा गराइएका थिए । अर्काे बिस्फाेट राजधानी नजिकै भएकाे थियाे । हवाई आक्रमणका साइरहनहरुले सहरमा थप त्रास सृजना गरेको थियो ।
रुसी हमलाको आज आठौ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मिसाईल तथा बम प्रहार गरेको छ । सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्षति भएको छ ।
बिस्फोटका कारण लागेको आगो निभाउन अग्नि नियन्त्रकहरु परिचालन गरिएका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व युद्ध आणविक र झन विनाशकारी हुने चेतावनी दिएका छन् । यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रुसी सेनामाथि जाइलागे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए ।
रुसी सेनाले भन्याे–किभ छाेडेर भासिल्किभमा जानु :रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने ।
किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।
रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन् । रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ । रुसी सेनााका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।