


सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सकिएको छ ।
सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् ।
आगामी २० फागुनदेखि खाली हुने राष्ट्रिय सभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।
सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबन्डा गरिएको छ । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको छ ।
एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।