अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा आज असोज १ गते घोषणा हुँदैछ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार विजेता छनोट तथा घोषणा कार्यक्रम स्थगित भएको थियो। स्थगित कार्यक्रम आज आन्तरिक राजस्व विभाग, लाजिम्पाटको सभाहलमा बिहान ११:३० बजे आयोजना हुने विभागले जनाएको छ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका लागि उपहार कार्यक्रमअन्तर्गत ३१ जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने थप २ जना बम्पर विजेता छनोट गरिनेछ। यसरी आज भदौ महिनाका लागि कुल ३३ जना विजेता घोषणा हुनेछन्। भदौ १६ गते नै विजेता घोषणा गर्ने तयारी भए पनि भोटेकोशी बाढीका कारण कार्यक्रम स्थगित भएपछि भदौ महिनाको सम्पूर्ण नतिजा आज एकैपटक सार्वजनिक गर्न लागिएको हो।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि करदातालाई करसम्बन्धी दायित्व नियमित रूपमा पूरा गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रमअन्तर्गत करदाताले आफ्नो करसम्बन्धी कारोबार तथा दायित्व पूरा गर्दा प्राप्त हुने विवरणका आधारमा उपहारका लागि सहभागी हुने व्यवस्था गरिएको छ। विभागले कार्यक्रम सञ्चालनका लागि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ समेत सार्वजनिक गरिसकेको छ।
कार्यविधिअनुसार सामान्य अवस्थामा प्रत्येक महिनाको १ गते र १६ गते उपहार विजेता छनोट तथा घोषणा गर्ने व्यवस्था गरिएको छ। तर भदौ १६ गतेको कार्यक्रम विपद्को अवस्थाका कारण स्थगित भएपछि उक्त दिन सार्वजनिक हुनुपर्ने विजेताको नतिजा आज असोज १ गते घोषणा गर्न लागिएको हो। त्यससँगै भदौ महिनाका लागि तोकिएका ३१ जना एक लाख रुपैयाँका विजेता र २ जना बम्पर विजेताको नाम सार्वजनिक हुनेछ। कार्यक्रम आन्तरिक राजस्व विभाग लाजिम्पाटको सभाहलबाट बिहान ११:३० बजे सुरु हुनेछ।
















how to get this luck draw share