२०८३ भदौ १० गते रसुवामा आएको बाढीसम्बन्धी समाचार प्रकाशित गर्ने क्रममा कान्तिपुरबाट गम्भीर तथ्यगत त्रुटि भएको देखिएको छ।
वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) हुँदाहुँदै कान्तिपुरको समाचारमा भने “प्रधानमन्त्री केपी शर्मा ओलीले…” भनेर उल्लेख गरिएको छ। समाचारमा रसुवा बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको, अन्य जिल्लाबाट थप जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको तथा विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको उल्लेख छ।
तर उक्त विवरणमा प्रधानमन्त्रीको नाम भने वर्तमान अवस्थासँग मेल खाँदैन। २०८३ भदौमा नेपालको प्रधानमन्त्री बालेन्द्र शाह हुन्, जबकि केपी शर्मा ओली पूर्वप्रधानमन्त्री हुन्।

एआई प्रयोग गर्दा पुरानो तथ्य नयाँ समाचारमा मिसियो?
डिजिटल सञ्चारमाध्यममा समाचार छिटो तयार गर्न एआईको प्रयोग बढ्दै गएको छ। एआईले उपलब्ध सामग्री, पुराना समाचार तथा इन्टरनेटमा रहेका सूचनाका आधारमा समाचारको ड्राफ्ट तयार गर्ने क्रममा वर्तमान र पुरानो तथ्य छुट्याउन नसक्दा यस्ता गल्ती हुन सक्छन्। त्यसमध्य गुगलको जेमिनी एआईले यस्तो किसिमको गल्ति गर्ने गरेको देखिन्छ।
यस घटनामा पनि समाचार तयार पार्दा एआईको प्रयोग गरिएको भए, उसले केपी शर्मा ओली प्रधानमन्त्री रहेको पुरानो तथ्यलाई नयाँ रसुवा बाढीको घटनासँग जोडेको हुनसक्ने देखिन्छ। एआईले कुनै विषयमा लेख्दा त्यससँग सम्बन्धित पुराना समाचार वा पुराना तथ्यलाई समेत आधार बनाउन सक्छ। यदि त्यसलाई पत्रकार वा सम्पादकले पुनः तथ्य-जाँच नगरी जस्ताको तस्तै प्रकाशन गरेमा प्रधानमन्त्रीको नाम, पद, मिति वा घटनासँग सम्बन्धित अन्य विवरणसमेत गलत हुन सक्छ।
छिटो समाचारभन्दा तथ्य जाँच महत्वपूर्ण
डिजिटल मिडियामा समाचार छिटो प्रकाशन गर्ने प्रतिस्पर्धा छ। एआईले समाचार लेखनको गति अझ बढाएको छ। तर एआईबाट तयार भएको सामग्रीलाई मानवीय तथ्यजाँचबिना सिधै प्रकाशन गर्दा यस्तो गम्भीर गल्ती हुनसक्छ। विशेषगरी प्रधानमन्त्री, मन्त्री, सरकारी निकाय, सुरक्षा निकाय तथा विपद्सम्बन्धी विवरणमा एकपटक गलत तथ्य प्रकाशित हुँदा त्यसले पाठकलाई नै गलत सूचना दिन सक्छ।
यस घटनाले एआईले समाचार लेख्न सहयोग गरे पनि प्रकाशनअघि वर्तमान पदाधिकारी, मिति र घटनासँग सम्बन्धित तथ्य मानव सम्पादकबाट अनिवार्य रूपमा जाँचिनुपर्ने आवश्यकता देखाएको छ। एआईले समाचार छिटो बनाउन सक्छ, तर तथ्यको अन्तिम जिम्मेवारी भने सञ्चारमाध्यमकै हुन्छ।
कान्तिपुरले प्रकाशन गरेको समाचार हामीले अर्काइभ गरेका छौ हजुरहरुले यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ।














