धेरैको प्रतीक्षामा रहेको हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज (बुधबार) दिउँसो ३ बजे हुने भएको छ। करिब २० लाख सर्वसाधारणले आवेदन दिएको यो आईपीओको नतिजाले आज धेरैको मनमा कौतुहलता र केही हदसम्म निराशा ल्याउने देखिन्छ।
कम्पनीले सर्वसाधारणका लागि २०८२ असार २४ गतेदेखि असार २७ गतेसम्म ७ लाख ७३ हजार ९७५ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो। छोटो समयमै यो आईपीओमा लगानीकर्ताको उल्लेख्य सहभागिता देखियो। बिक्री प्रबन्धकका अनुसार, निष्कासन बन्द हुँदासम्म १९ लाख ९७ हजार ६९४ जना आवेदकले आवेदन दिएका थिए। यो माग निष्कासित शेयरभन्दा ३०.१७ गुणा बढी हो, जसले जलविद्युत क्षेत्र र समग्र शेयर बजारप्रति सर्वसाधारणको बढ्दो आकर्षणलाई प्रस्ट पार्छ।
उच्च मागका कारण, आवेदन दिने कुल आवेदकहरू मध्ये केवल ३.८७ प्रतिशतले मात्र शेयर प्राप्त गर्ने अनुमान गरिएको छ। धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७९ अनुसार गोलाप्रथाबाट गरिने बाँडफाँडमा १९ लाख ९७ हजार ६९४ जना आवेदक मध्ये करिब ७७ हजार ३९७ जनाले मात्र शेयर प्राप्त गर्नेछन्। यसरी हेर्दा, बाँकी १९ लाख २० हजार २९७ जना आवेदकहरू भने शेयर पाउनबाट वञ्चित हुनेछन्।
आईपीओ बाँडफाँडको प्रक्रिया एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौंमा आज दिउँसो ३ बजेदेखि सुरु हुने छ। निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बाँडफाँडका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी दिएको छ।
बाँडफाँडको नतिजा प्रकाशित भएलगत्तै आवेदकहरूले सम्बन्धित निष्कासनकर्ता तथा मेरोशेयर प्रणाली मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।






