×
भारत प्रबेस गर्न परिचयपत्र अनिवार्य, पुलमै लाइन लगाएर परिचयपत्र माग



भारतीय बजार धार्चुला जान नेपालीले परिचपत्र अनिवार्य देखाउनुपर्ने भएकाे छ ।

नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले  नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचनाबोर्ड नै टाँसेकाे छ । हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।

राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ । पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सूचना पाटीमा उल्लेख छ ।

भारतले व्यासको छाङरू र तिंकरमा जनगणनामा असहयोग पनि गरेको थियाे । भारतको बाटो भएर हिँडने अनुमति नदिएपछि जनगणना टोलीलाई बिहीबारमात्रै हेलिकप्टरबाट खलंगा ल्याइएको छ ।

अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभि र गुञ्जीमा नेपालले जनगणना गर्नसक्ने भन्दै भारतीय सुरक्षा निकाय सशंकित बनेको छ । नेपालमा राष्ट्रिय जनगणना भइरहेकोले गणक अतिक्रमित क्षेत्रसम्म पुग्न भारतीय बाटो प्रयोग गर्न सक्ने भन्दै सीमापुलमा निगरानी बढाएको छ ।

सीमा क्षेत्रमा आवतजावत सहज बनाउने प्रयास भइरहेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काले बताए । आवतजावत सहजका विषयमा कोतवाली धार्चुलाका इन्चार्जसँग कुराकानी गरिएको उनकाे भनाइ छ ।

भारतीय एसएसबीले दशैँतिहारमा पनि भारतीय क्षेत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस