नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका दुई जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड (TPKHL) र याम्बालिङ हाइड्रोपावर लिमिटेड (YMHL) को शेयर असार ८ गतेदेखि नेप्सेमा कारोबारका लागि खुला हुने भएको हो। नेप्से र सम्बन्धित कम्पनीहरूबीच असार ५ गते सूचीकरण सम्झौता सम्पन्न भएपछि दुवै कम्पनीको आईपीओ शेयर नेप्सेमा सूचीकृत गरिएको थियो। सूचीकरणपछि नेप्सेले कारोबार सुरु हुने मिति र पहिलो कारोबारका लागि मूल्य दायरा समेत निर्धारण गरेको छ।
टक्सार पिखुवा खोला हाइड्रोपावरको १ करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक समूहको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीको शेयर संकेत ‘TPKHL’ रहनेछ।
यस्तै, याम्बालिङ हाइड्रोपावरको ७० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरिएको छ। यसमध्ये सर्वसाधारणमा वितरण गरिएको २८ लाख कित्ता र संस्थापक समूहको ४२ लाख कित्ता शेयर समावेश छन्। कम्पनीको शेयर संकेत ‘YMHL’ रहनेछ।
नेप्सेका अनुसार दुवै कम्पनीको शेयरको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकिएको छ। सोमबार प्रि–ओपन सेसनमा सोही मूल्य सीमाभित्र खरिद–बिक्री आदेश मिलेको अवस्थामा पहिलो कारोबार हुनेछ। त्यसपछि नियमित बजारमा कारोबार अगाडि बढ्नेछ।















