आज बिहान प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।
दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।
ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।










