नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ।
लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड ७३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १८ प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १३ करोड २३ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा घटेकाले नाफा घटेको हो । साथै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा घटेको देखिन्छ । गत आवको दोस्रो त्रैमासससम्ममा कम्पनीको नित्रिष्क्रय कर्जा २ दशमलव शून्य ८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ६ दशमलव शून्य ९ प्रतिशत पुगेको हो ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
कम्पनीले जगेडामा रू. ५४ करोड ३ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३३ करोड ३४ लाख सापटी लिएर रू. २ अर्ब ३७ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब २१ करोड कर्जा लगानी गरेको हो । हालसम्ममा कम्पनीले ५६ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय पर्वत, कुश्मा बजारमा रहेको छ ।
















