


नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् ।
काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुनेछ ।’
कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’
माओवादीको अनुरोधमा प्रतिनिधिसभा बैठक स्थगित : संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ ।
संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११:३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने : माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी समिति बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ । स्थायी समितिबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन् ।