बाढीपीडितका लागि १ हजार रुपैयाँ सहयोग गर्ने एक व्यक्तिको नाममा १ लाख ३३ हजार ३३४ रुपैयाँको चिट्ठा परेको छ।
तर चिट्ठा परे पनि उक्त रकम भने विजेताले नपाउने भएका छन्। आन्तरिक राजस्व विभागले भदौ १ देखि १५ गतेसम्मको कारोबारका बिल तथा अनलाइन भुक्तानीका आधारमा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा ०४१६१८४७७६२० कुपन नम्बरका एक दाताको नाममा उक्त चिट्ठा परेको हो।
उक्त कुपन नम्बरबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा बाढीपीडितका लागि भदौ १० गते १ हजार रुपैयाँ सहयोग गरिएको थियो। सामान खरिद नगरी राहत कोषमा रकम ट्रान्सफर गरिएको भए पनि अनलाइन भुक्तानीका आधारमा कुपन सिर्जना हुँदा चिट्ठामा उक्त नम्बर समावेश भएको विभागले जनाएको छ।
तर सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम सामान तथा सेवा खरिद गरी जारी भएको बीजकमा आधारित भएकाले दान गरेको रकमलाई पुरस्कारका लागि योग्य नमानिने भएको छ। सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बीजकसमेत कार्यक्रममा सहभागी हुन योग्य नहुने विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार अनलाइन भुक्तानी गर्दा इसेवा, बैंकलगायतका माध्यमबाट भएका कारोबारका आधारमा कुपन नम्बर सिर्जना हुने र ती कुपनमध्येबाट चिट्ठा छनोट हुने भएकाले दानको रकमबाट समेत कुपन परेको हुन सक्छ। तर उक्त कारोबार खरिदसँग सम्बन्धित नभएकाले पुरस्कार रकम भुक्तानी नगरिने भएको हो।
भदौ महिनाका विजेता बिहीबार छनोट गरिएको हो। भदौ महिनाका ३१ जना दैनिक विजेतामध्ये प्रत्येकले १ लाख रुपैयाँ पाउने भएका छन् भने दुई जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ पाउनेछन्। बम्पर उपहारतर्फ कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान खरिद गर्ने र सुनिता फेन्सीबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने दुई व्यक्ति छनोट भएका छन्। उनीहरूले जनही १० लाख रुपैयाँ पाउने विभागले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो।















