


सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ ।
कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरबाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवारदेखि नियमित जडान भएको हो । बिहीवारदेखि परीक्षण उत्पादन गरेको सुपरमादीको वर्षायाममा ४४ मेगावाट क्षमता रहेको छ भने पीपीए अनुसार चैतमा १३ मेगावाट क्षमता भए पनि १५ मेगावाट उत्पादन गरेको हाइड्रोपावरका संचालकले जानकारी दिए।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भाैगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरिएको छ ।
आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । ७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कोरोना, युक्रेन युद्धका कारण १ अर्ब रुपैयाँभन्दा बढी लागत बढेको थियो। यसमा सानिमा बैंकको अगुवाइमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य, एनआईडीसीएल र प्रभु बैंक लगायतकाे लगानी रहेको छ भने लगानीकर्ताले २ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् ।