×
Lagani
Lagani Shiksha gif
नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै ।



रासस।। पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ ।

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ । “सुरु–सुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि सेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा सेयर कारोबार गर्ने छन्”, इम्पेरियल सेक्युरिटीज कम्पनी प्रालि नेपालगञ्जका प्रमुख उदय अधिकारी भने । उनले स्थापनाकालमा घर–घरमा पुगेर बैंक र डिम्याट खाता खोल्न प्रोत्साहित गरेको र त्यसबाट प्रभावित भएर आठ हजार हाराहारीमा खाता खोलिएको जानकारी दिँदै प्राथमिक निष्कासन (आइपिओ)परेर त्यसलाई बजारमा बेच्न खोज्नेको बाहुल्य रहेको तर दोस्रो बजारमा कारोबार गर्नेको सङ्ख्या कम भएको बताए ।

Lagani Shiksha gif
sharehubapk नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै ।

सेयर कारोबारका विषयमा एउटा घरमा एक जनालाई जानकारी भएपछि उसकै आधारमा सबै सदस्यले र आफन्तको समेत गरेर २५ जनासम्मको सेयर कारोबार गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ । अधिकारीले खासगरी विद्यार्थीले आफ्नो आइपिओमार्फत परेको सेयरबाट कलेजको शुल्क तिर्ने र खाजा खर्च चलाउने गरेको बताए । सेयर कारोबारबाट केही विद्यार्थीले यस्तो लाभ लिन थालेपछि अन्यले पनि यसको सिको गरेको पाइएको छ । यसमा स्नातक तहका व्यस्थापन पढ्ने विद्यार्थी सेयर कारोबारमा बढिरहेका छन् । यसबाहेक, शिक्षा, मानविकी, वाणिज्य सङ्कायका विद्यार्थीले समेत सो कारोबार गरेका छन् ।

उनले कोरिया, कुवेत, जापान र खाडी मुलुकमा वैदेशिक रोजागारीमा गएकाले नेपालगञ्जको सेयर बजारमा उत्साहजनक लगानी गरेको उल्लेख गर्दै सबैभन्दा बढी खाडी मुलुकमा गएकाको सेयर लगानी बढी भएको बताए । यस्तो लगानी गर्नेमा पुरुषसँगै महिलाको सङ्ख्या पनि कम नभएको बताइएको छ । वैदेशिक रोजगारीमा गएकाले अनलाइनमार्फत धेरै कारोबार गर्ने गरेको पाइएको छ । ब्रोकरमार्फत विभिन्न स्कुल र कलेजमा गएर वित्तीय साक्षरताका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अधिकारीले यस वर्ष बाँकेका पाँच र बर्दियाका चार कलेजमा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको बताए । त्यसबाट सेयर बजारको दोस्रो बजारमा कारोबार गर्ने विषय थाहा नभएकाले त्यसबारमो पनि चर्चा चलाइएको छ ।

“अहिले पछिल्लो समय दोस्रो बजारमा कारोबार गर्नेको सङ्ख्या पनि बढेको छ”, उनले भने । बजार घट्दा कारोबार तथा सङ्ख्या कम हुन्छ र सूचक घटेकाले मनोबल पनि घट्छ यस्तो बेला लगानीकर्तालाई आत्तिन नहुनेमा जोड दिँदै राजनीतिक अस्थितरताको अन्त्य हुनेबित्तिकै बजारले लय समात्ने अधिकारीले विश्वास व्यक्त गरे । उनले बजारको ‘इन्डेक्स’ न्यूनतम अवस्थामा रहेको औल्याउँदै दीर्घकालीन लगानीकर्तालाई अहिले पनि लगानीको अवसर भएको बताए । “मेरो विचारमा अहिले लगानी गर्ने राम्रोसँग लाभान्वित हुन्छन्”, अधिकारी भने । सेयर लगानीकर्ता शिव सुवेदीले राष्ट्र बैंकको गलत नीतिका कारण सेयर बजार उकालो लाग्न नसकेको आरोप लगाउँदै ठूला लगानीकर्ताले बजारमा चलखेल गरेको बताए ।

उनले एक दिन बजार बढाउने र त्यसमा साना लगानीकर्ता फस्ने गरेको अनुभव सुनाए । “राजनीतिक स्थायित्वमात्रै भए पनि बजार बढ्नमा सहयोग हुन्छ”, उनले भने । विस २०७३ मा नेपालगञ्जमा इम्पेरियल सेक्युरिटीज प्रालि पहिलोपटक स्थापना भएको थियो । त्यसपछि कालिका सेक्युरिटीज प्रालिसहित दुई ब्रोकर कार्यालय रहेका छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली, कालिकोट, जुम्लालगायतका जिल्लाबाट सेयर कारोबार गर्न लगानीकर्ता आउँछन् । कुनै बेला रु २७ करोडसम्म कारोबार गरेको इम्पेरियल सेक्युरिटीजले अहिले पनि रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म दैनिक कारोबार भएको दाबी गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस