


कुनै समय संसारको सबैभन्दा धनी व्यक्तिको रूपमा चिनिने टेस्लाका सीईओ एलोन मस्कका खराब दिनहरू समाप्त हुने देखिँदैन।
जुनगतिमा उनको सम्पत्ति घट्दै गइरहेको छ, शीर्ष १० अर्बपतिको सूचीमा उनको दोस्रो नम्बरको कुर्सी पनि खतरामा छ । तर यो खराब अवस्थामा पनि उनले गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । मस्कले पछिल्लो दुई महिनामा सबैभन्दा धेरै पैसा गुमाएका छन् ।
अर्बपति व्यापारी तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले नम्बर एक धनीको ताज गुमाएपछि पैसा गुमाएर गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । फोर्ब्स डाटाको आधारमा, गिनिज वर्ल्ड रेकर्ड्सले एक ब्लगमा बताएको छ कि एलोन मस्कले २०२१ को उच्च स्तरबाट आफ्नो कुल सम्पत्तिमा १८२ बिलियन डलर ( तेइस खरब सतरी अरब उननचालीस करोड सोह्र लाख साठी हजार रुपैंया) गुमाएका छन । यस्तो गर्ने उनी इतिहासकै पहिलो व्यक्ति बनेका छन्।
गिनिज वल्र्ड रेकर्डले आफ्नो ब्लगमा लेखेको छ, ‘यो तथ्याङ्क फोर्ब्सको अनुमानमा आधारित छ, अन्य स्रोतहरू जोड्दा यो रकम २०० अर्ब डलर नजिक पुग्ने अनुमान गरिएको छ।’ बिजनेश स्ट्याण्डर्डमा प्रकाशित प्रतिवेदन अनुसार इलोन मस्कले १८२ अर्ब डलरको सम्पत्ति गुमाएर जापानी अर्बपतिको नाममा रहेको यो विश्व कीर्तिमानलाई ठूलो अन्तरले तोडेका छन् ।
रेकर्ड किपर गिनिजका अनुसार यकिन तथ्यांक पत्ता लगाउन लगभग असम्भव छ, तर मस्कको ठूलो घाटाले सन् २००० मा जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनले गुमाएको ५८.६ बिलियन डलरको अघिल्लो रेकर्डलाई पार गरेको छ। २०२१ को अन्त्यमा एलोन मस्कको सम्पत्ति चरम सीमामा थियो र यो ३२० अर्ब डलरमा रेकर्ड गरिएको थियो। तर अहिले जनवरी २०२३ मा यो १३८ बिलियन डलरमा झरेको छ ।
एलोन मस्कको सम्पत्ति घट्नुको मुख्य कारण उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाको शेयरको कमजोर प्रदर्शनका कारण यो ठूलो घाटा बेहोर्नुपरेको बताइएको छ। यसबाहेक उनले सामाजिक सञ्जाल ट्विटरसँग ४४ अर्ब डलरको सम्झौता गरेदेखि नै उनको खराब दिन सुरु भएको थियो । नेटवर्थमा आएको गिरावटका कारण फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले उनलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्तिको ताज आफ्नो हातमा लिए। यसैबीच भारतीय उद्योगपति गौतम अडानीले उनलाई कडा प्रतिस्पर्धा दिइरहेका छन् ।