मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।
कम्पनीले सार्बजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो आवमा विद्युत् बिक्रीबाट कम्पनीको रू. ९ करोड ६५ लाख आम्दानी भएकोमा गत आवमा वृद्धि भएर रू. ११ करोड ३६ लाख पुगेको छ । कम्पनीको चुक्ता पूँजी रू. ६ करोड ४६ लाख रहेको छ भने जगेडामा कम्पनीले रू. २ करोड ९० लाख सञ्चित गरेको छ । त्यसैगरी गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. १०० दशमलव ८८ रहेको छ ।
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यसमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । कम्पनीको आयोजना प्रभावित स्थानीय तर्फको शेयर भने आगमी तीन वर्षसम्म लकइन पिरियडमा रहनेछ ।














