धनकुटाका युवाहरु अहिले च्याउ खेति तर्फ आकर्षित भएका छन् । च्याउ खेतिबाट राम्रो आम्दानी हुन थालेपछी च्याउ खेतिमा संलग्न भएको उनीहरु बताउँछन् ।
सँगै हुर्किएका, पढेका कतिपय साथीहरु कामको खोजिमा विदेशिए पनि आफुलाई भने परदेशिन मन नलागेपछी धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ का चुईन्द्र बस्नेतले गाउँमै च्याउ खेती गरिरहनुभएको छ ।
विदेशिदा लाग्ने खर्च र उता गएर गर्ने मिहेनत गाउँमै लगाउन सकिने भन्दै उहाँले च्याउ खेति गर्ने मन बनाएर काम सुरु गरेको बताउनुभयो । तीस लाख रुपैयाँ लगानीमा विष्णु एग्रोफर्म दर्ता गरेर सुरु गरेको च्याउ खेतिले बस्नेतलाई सुन्तुष्टि दिईरहेको छ ।
गाउँमै सुरु गरेको फर्ममा केही युवाहरूले रोजगारी समेत पाएका छन् । छिमेकमै रोजगारी पाएपछि, परिवारसँगै बसेर दुईचार पैसा कमाउन सकेको स्थानीय भक्ति बस्नेत बताउनुहुन्छ ।धनकुटामा उत्पादित च्याउ तराईका जिल्लामा खपत हुने गरेको र बजारको समस्या नरहेको किसानहरू बताउँछन् ।
कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको छथर जोरपाटी गाँउपालिका–६ का स्थानीय टीका बस्नेत बताउनुहुन्छ ।
हाल धनकुटामा व्यवसायिक च्याउ खेति गर्ने ४ जना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनकुटामा वार्षिक ४ करोड रुपैयाँ बराबरको च्याउ उत्पादन हुने गरेको छ ।
नेपालमा प्रत्येक वर्ष श्रम बजारमा करिब ५ लाखभन्दा बढी जनशक्ति आउने भएपनि रोजगारी वृद्धि दर न्यून भएकाले बेरोजगारी समस्या बढिरहेको छ । काम पार्ईएन भनेर विदेशिने युवाको सङ्ख्या त उलेख्य मात्रामा घटेको छैन, तर नेपालमा केही गर्न सकिन्छ भन्नेहरु बिस्तारै बढिरहेका छन् ।
















