×
Lagani
Lagani Shiksha gif
विद्युत महसुलको बक्यौताले दशैंमै खानेपानी संकट, कटहरियाका १,६०० परिवार प्रभावित



णसञ्जय मिश्रा/न्युज कारखाना

रौतहट, २५ असोज । रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुलको बक्यौताले दशैंको मुखमै खानेपानी संकट निम्त्याएको छ।

Lagani Shiksha gif
sharehubapk विद्युत महसुलको बक्यौताले दशैंमै खानेपानी संकट, कटहरियाका १,६०० परिवार प्रभावित

 खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएपछि कटहरिया नगरपालिका–४ र ५ का करिब १ हजार ६ सय परिवार तीन दिनदेखि खानेपानीबाट वञ्चित भएका छन्।

हिन्दुहरूको महान् पर्व बडा दशैं नजिकिँदै गर्दा खानेपानीजस्तो आधारभूत सेवा अवरुद्ध भएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। नगरपालिकाले खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गरे पनि त्यसका लागि आवश्यक विद्युत महसुल भुक्तानी गर्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो।

नगरपालिका–५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत लाइन नेपाल विद्युत प्राधिकरणको मौलापुर शाखाले तीन दिनअघि काटेको थियो। लामो समयदेखि विद्युत महसुल नतिरेपछि लाइन काट्नुपरेको प्राधिकरणले जनाएको छ। विद्युत आपूर्ति बन्द भएसँगै खानेपानी वितरणसमेत ठप्प भएको छ।

नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख उमेश दासका अनुसार खानेपानी उपभोक्ता समितिको करिब १० लाख रुपैयाँ विद्युत महसुल बक्यौता छ। पटक–पटक रकम भुक्तानी गर्न ताकेता गर्दा पनि बक्यौता नतिरेपछि बाध्य भएर विद्युत मिटर खोलिएको उनले बताए।

महसुलको भार नागरिकमाथि

विद्युत महसुल नतिरेको विषयमा स्थानीय जनप्रतिनिधिहरूले नगरपालिकाको नेतृत्वमाथि प्रश्न उठाएका छन्। कटहरिया–४ का वडाध्यक्ष चन्दन कुशवाहाले नगरप्रमुख अजयप्रकाश जैसवालको लापरवाहीका कारण समयमै महसुल भुक्तानी नभएको आरोप लगाए।

उनका अनुसार विद्युत महसुल समयमै बुझाइएको भए नागरिकले दशैंको मुखमा खानेपानीका लागि भौँतारिनुपर्ने अवस्था आउने थिएन।

कटहरिया–५ का वडाध्यक्ष सर्फलाल गुप्ताले पनि खानेपानीको विद्युत लाइन काटिएर सेवा अवरुद्ध भएको यो पहिलो घटना नभएको बताए। उनका अनुसार यसअघि पनि यस्तै समस्या पटक–पटक दोहोरिँदै आएको छ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले नगरपालिकाले खानेपानी निःशुल्क घोषणा गरे पनि त्यसको सञ्चालनमा लाग्ने विद्युत महसुल भुक्तानी नगर्दा उपभोक्ता मारमा परेको बताए।

उनका अनुसार पूर्वनगरप्रमुखको कार्यकालमा खानेपानी सञ्चालनबापतको विद्युत महसुल नगरपालिकाले नै तिर्दै आएको थियो। तर, पछिल्लो समय बक्यौता बढ्दै जाँदा खानेपानी सेवा नै बन्द हुने अवस्था आएको हो।

घोषणा निःशुल्कको, सेवा भने ठप्प

खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु र त्यसलाई नियमित सञ्चालन गर्नु फरक विषय हुन्। आवश्यक बजेट, विद्युत महसुल र व्यवस्थापनको सुनिश्चितता नहुँदा निःशुल्क सेवाको घोषणा नै नागरिकका लागि समस्या बनेको स्थानीयको गुनासो छ ।

तीन दिनदेखि खानेपानी नपाउँदा स्थानीय बासिन्दा नगरपालिका तथा जनप्रतिनिधिप्रति आक्रोशित बनेका छन्। पर्वको समयमा सरसफाइ, खाना पकाउने र दैनिक उपभोगका लागि पानी आवश्यक पर्ने भए पनि सेवा बन्द हुँदा थप कठिनाइ भएको उनीहरूको भनाइ छ।

उपभोक्ताहरूले विद्युत महसुलको बक्यौता तत्काल भुक्तानी गरी खानेपानी सेवा सञ्चालन गर्न माग गरेका छन्। माग सम्बोधन नभए नगरपालिका विरुद्ध आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्।

खानेपानीजस्तो अत्यावश्यक सेवाको निरन्तरता सुनिश्चित गर्नु स्थानीय सरकारको आधारभूत जिम्मेवारी हो। तर, महसुल बक्यौताको विवादले हजारौँ नागरिक प्रभावित हुँदा कटहरिया नगरपालिकाको आर्थिक व्यवस्थापन र सेवा प्रवाहमाथि प्रश्न उठेको छ।

अब मुख्य प्रश्न छ—विद्युत महसुलको बक्यौता कसले र कहिले तिर्ने तथा दशैंको मुखमा खानेपानीबाट वञ्चित नागरिकलाई सेवा कहिले उपलब्ध गराइने?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस