नेपाल धितोपत्र बोर्डले नेप्सेमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्कका रूपमा प्रयोग गर्ने व्यवस्था अघि बढाउन निर्देशन दिएको छ। नयाँ सूचकाङ्क लागू भएपछि त्यसकै आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने तयारीसमेत अघि बढ्ने भएको छ।
बोर्डले स्वतन्त्र कारोबारयोग्य शेयर अर्थात् फ्रि फ्लोट शेयरका आधारमा नयाँ सूचकाङ्क विकास गर्न निर्देशन दिएको हो। हालको बजार संरचनालाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन यस्तो सूचकाङ्कलाई बेन्चमार्कका रूपमा प्रयोग गर्ने अवधारणा अघि सारिएको छ। नयाँ बेन्चमार्क सूचकाङ्कका आधारमा बजारमा लागू हुँदै आएको सर्किट ब्रेकरको व्यवस्था पनि पुनरावलोकन गरिनेछ।
त्यस्तै, नेप्से सूचकाङ्कलाई थप विविधीकरण गर्ने योजना अघि बढाइएको छ। पूँजी, प्रतिफल, तरलतालगायतका आधारमा लगानीयोग्य तथा अनुमानयोग्य सूचकाङ्क विकास गर्नुपर्ने बोर्डको निर्देशन छ। नेप्से ३० र नेप्से हाई क्यापजस्ता सूचकाङ्कलाई थप व्यवस्थित गर्दै नेप्से सूचकाङ्कलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन प्रचलित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य अघि बढाउनसमेत भनिएको छ।
यससँगै हाल गणना हुँदै आएको सेन्सेटिभ सूचकाङ्कलाई समेत कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाएर पुनरावलोकन गर्न बोर्डले निर्देशन दिएको छ। यसले बजारको वास्तविक अवस्था, लगानीयोग्यता र विभिन्न समूहका कम्पनीको प्रदर्शनलाई छुट्टाछुट्टै रूपमा मापन गर्ने सूचकाङ्क प्रणाली विकास गर्ने बाटो खोल्ने देखिएको छ।
के–के परिवर्तन हुँदैछन्?
फ्रि फ्लोट शेयरका आधारमा नयाँ सूचकाङ्क विकास गरिने।
नयाँ सूचकाङ्कलाई बेन्चमार्क सूचकाङ्कका रूपमा प्रयोग गरिने।
नयाँ बेन्चमार्कका आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गरिने।
पूँजी, प्रतिफल र तरलतालगायतका आधारमा नयाँ लगानीयोग्य तथा अनुमानयोग्य सूचकाङ्क विकास गरिने।
नेप्से ३० र नेप्से हाई क्यापजस्ता सूचकाङ्कलाई थप विविधीकरण गरिने।
नेप्से सूचकाङ्कलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन सम्बन्धित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य गरिने।
हालको सेन्सेटिभ सूचकाङ्कलाई कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाएर पुनरावलोकन गरिने।














