×
Lagani
Lagani Shiksha gif
आफुले लिएको बिल पुरस्कार जित्न योग्य छ कि छैन कसरि थाह पाउने ?



बजारमा सामान वा सेवा खरिद गरेपछि व्यवसायीले दिएको बिल अब खरिदको प्रमाणमा मात्र सीमित छैन। सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ अन्तर्गत यही बिलका आधारमा उपभोक्ता पुरस्कार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। तर आफूसँग भएको जुनसुकै बिल पुरस्कारका लागि योग्य हुन्छ भन्ने हुँदैन। बिलमा आवश्यक विवरण हुनुपर्ने र कार्यक्रमले तोकेका मापदण्ड पूरा गरेको हुनुपर्छ।

त्यसैले आफूले लिएको बिल पुरस्कारका लागि दर्ता गर्नुअघि बिलमा उल्लेख भएको PAN नम्बर र व्यवसायको नाम सही छ कि छैन जाँच गर्नु महत्वपूर्ण हुन्छ। यो विवरण उपभोक्ताले घरमै बसेर आन्तरिक राजस्व विभागको वेबसाइटबाट समेत जाँच गर्न सक्छन्।

Lagani Shiksha gif
sharehubapk आफुले लिएको बिल पुरस्कार जित्न योग्य छ कि छैन कसरि थाह पाउने ?

यदि तपाई शेयर बजार सिकेर कमाउन चाहानुहुन्छ भने हाम्रो लगानी शिक्षा इबुक पढ्न यहाँ क्लिक गर्नु होला। 

सबैभन्दा पहिले बिलमा PAN नम्बर हेर्नुहोस्

पसल, होटल, रेस्टुरेन्ट वा अन्य व्यवसायबाट सामान तथा सेवा खरिद गरेपछि पाएको बिलमा स्थायी लेखा नम्बर (PAN) उल्लेख गरिएको छ कि छैन हेर्नुहोस्। बिलमा विक्रेताको PAN नम्बर स्पष्ट रूपमा देखिनुपर्छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको आधिकारिक प्रणालीमा बिल दर्ता गर्दा समेत विक्रेताको PAN नम्बर आवश्यक पर्ने व्यवस्था छ। बिलमा PAN नम्बर नै नभएको वा स्पष्ट रूपमा नबुझिने अवस्था भएमा त्यस्तो बिललाई पुरस्कार कार्यक्रममा दर्ता गर्नुअघि थप जाँच गर्नुपर्छ। कार्यक्रमको आधिकारिक विवरणअनुसार PAN नलिएका व्यक्तिबाट खरिद गरिएको बीजक पुरस्कार कार्यक्रममा सहभागी हुन योग्य हुँदैन।

PAN नम्बर सही छ कि छैन यसरी जाँच्नुहोस्

बिलमा PAN नम्बर देखिएपछि त्यसलाई मात्र आधार बनाएर ढुक्क हुनुभन्दा एकपटक आन्तरिक राजस्व विभागको प्रणालीमा जाँच गर्न सकिन्छ। विभागले करदाताको विवरण हेर्नका लागि PAN Search सुविधा उपलब्ध गराएको छ।

आन्तरिक राजस्व विभागको PAN Search मा गएर बिलमा लेखिएको PAN नम्बर राखेर खोज्न सकिन्छ। त्यसपछि देखिने करदाता वा व्यवसायको विवरणलाई आफूले बिल पाएको व्यवसायसँग तुलना गर्नुपर्छ।

अर्थात्, बिलमा रहेको PAN नम्बरबाट सरकारी प्रणालीमा देखिएको व्यवसायको विवरण र आफूले बिल पाएको व्यवसायको नाम मिल्छ कि मिल्दैन भन्ने कुरा हेर्नुपर्छ। उदाहरणका लागि, कुनै पसलबाट सामान खरिद गर्दा बिलमा उल्लेख भएको PAN नम्बर खोज्दा त्यही पसल वा सम्बन्धित व्यवसायको विवरण देखिनुपर्छ। बिलमा रहेको व्यवसायको नाम र PAN Search मा देखिएको विवरणमा फरक देखिएमा उक्त बिलबारे थप जाँच गर्नु उचित हुन्छ।

PAN नम्बर जाँच गर्ने तरिका

PAN नम्बर र व्यवसायको नाम मिल्यो, अब बिल पुरस्कारका लागि योग्य भयो?

त्यसैका आधारमा मात्र बिल योग्य हुन्छ भन्ने हुँदैन। PAN नम्बर र व्यवसायको नाम मिल्नु बिल जाँच गर्ने एउटा महत्वपूर्ण आधार हो। त्यसबाहेक उक्त बिल कार्यक्रमले तोकेको अन्य मापदण्डभित्र पर्छ कि पर्दैन भन्ने पनि हेर्नुपर्छ।

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ को विवरणअनुसार व्यावसायिक प्रयोजनका लागि भएका खरिद बीजक, सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बीजक, टेलिफोन तथा इन्टरनेट सेवा, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिदसम्बन्धी बीजकहरू पुरस्कार कार्यक्रममा योग्य नहुने व्यवस्था गरिएको छ।

यसकारण बिलमा PAN नम्बर भएको र PAN Search मा व्यवसायको विवरणसमेत मिलेको अवस्थामा पनि उक्त बिल कार्यक्रमको योग्य श्रेणीमा पर्छ कि पर्दैन भन्ने कुरा यकिन गर्न आवश्यक हुन्छ।

QR वा कार्डबाट भुक्तानी गरेको बिल भए के गर्ने?

कार्यक्रममा भुक्तानीको माध्यमअनुसार पनि छुट्टै व्यवस्था गरिएको छ। आधिकारिक प्रणालीअनुसार नगदबाट गरिएको कारोबारको बिल दर्ता गर्नुपर्ने व्यवस्था छ भने QR वा कार्डबाट गरिएको भुक्तानीका लागि स्वतः दर्ता हुने व्यवस्था उल्लेख गरिएको छ।

तर QR वा कार्डबाट भुक्तानी गरेको भए पनि बिल भने सुरक्षित राख्नु आवश्यक हुन्छ। पुरस्कारका लागि छनोट भएको अवस्थामा बिल प्रमाणित गर्नुपर्ने हुन सक्छ।

बिलमा विवरण नमिले के गर्ने?

बिलमा उल्लेख भएको व्यवसायको नाम र PAN Search मा देखिएको विवरण फरक परेमा त्यसलाई सामान्य रूपमा बेवास्ता गर्नु हुँदैन। त्यस्तो अवस्थामा सम्बन्धित व्यवसायसँग थप जानकारी लिन सकिन्छ। आवश्यक परे आन्तरिक राजस्व विभाग वा सम्बन्धित कार्यालयबाट समेत जानकारी लिन सकिन्छ। उपभोक्ताले बिलमा बिल नम्बर, मिति, व्यवसायको नाम, PAN नम्बर र कारोबार रकम लगायतका विवरण स्पष्ट छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ।

गलत बिलबाट पुरस्कार दाबी नगर्नुहोस्

पुरस्कार जित्ने उद्देश्यले जाली, सच्याइएको, दोहोरिएको वा गलत विवरण भएको बिल प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। कार्यक्रमका नियमअनुसार त्यस्ता बिल भेटिएमा प्रविष्टि अस्वीकृत वा पुरस्कार कुपन रद्द हुन सक्ने तथा आवश्यक अवस्थामा पुरस्कार रकमसमेत असुल गर्न सकिने व्यवस्था छ। त्यसैले पुरस्कारका लागि आफूले वास्तविक रूपमा खरिद गरेको र आवश्यक विवरण भएको बिल मात्र प्रयोग गर्नु सुरक्षित हुन्छ।

बिल सुरक्षित राख्नुहोस्

बिल दर्ता गरेर कुपन प्राप्त गरिसकेपछि पनि मूल बिल सुरक्षित राख्नु उपभोक्ताका लागि महत्वपूर्ण हुन्छ। पुरस्कारका लागि छनोट भएको अवस्थामा बिल प्रमाणका रूपमा आवश्यक पर्न सक्ने भएकाले बिल हराउन नदिनु राम्रो हुन्छ।

यसरी पुरस्कार कार्यक्रममा सहभागी हुनुअघि उपभोक्ताले केही मिनेटमै आफ्नो बिलको आधारभूत विवरण जाँच गर्न सक्छन्। पहिले बिलमा PAN नम्बर हेर्नुहोस्, त्यसपछि IRD को PAN Search मा उक्त नम्बर खोज्नुहोस्, देखिएको व्यवसायको नाम बिलसँग मिलाउनुहोस् र अन्त्यमा बिल कार्यक्रमको योग्य श्रेणीमा पर्छ कि पर्दैन यकिन गरेर मात्र दर्ता गर्नुहोस्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस