नेपाली शेयर बजारसम्बन्धी समाचार, सूचना र लगानी शिक्षाका सामग्री प्रकाशन गर्दै आएको नेप्से बजारले आफ्नो ‘लगानी शिक्षा’ प्लेटफर्ममा डिजिटल बुक सुविधा सुरु गरेको छ।
यस सुविधामार्फत अब शेयर बजार सिक्न चाहनेले छुट्टाछुट्टै विषयलाई अनलाइनमै पुस्तकको स्वरूपमा अध्यायगत रूपमा पढ्न सक्नेछन्। शेयर बजारमा प्रवेश गर्नु सजिलो भए पनि बजारलाई बुझेर निर्णय लिन भने निरन्तर अध्ययन आवश्यक हुन्छ। हाइ, लो, ट्रेन्ड, सपोर्ट–रेजिस्टेन्स, क्यान्डलस्टिकदेखि कम्पनीको आम्दानी, नाफा, ईपीएस, पी/ई, नेटवर्थ र भ्यालुएसनसम्मका विषय एकैपटक बुझ्न खोज्दा धेरैलाई जटिल लाग्न सक्छ। यही समस्यालाई ध्यानमा राख्दै डिजिटल बुकमा विषयलाई साना अध्याय र क्रमबद्ध पाठमा विभाजन गरेर प्रस्तुत गरिएको छ।
डिजिटल बुक सामान्य PDF वा एकपटक डाउनलोड गरेर राख्ने ई–बुक मात्र होइन। यसमा प्रयोगकर्ताले लगानी शिक्षा प्लेटफर्मभित्रै लगइन गरेर पुस्तक छान्ने, अध्यायअनुसार पढ्ने र आफूलाई आवश्यक विषयमा क्रमशः ज्ञान बढाउँदै जाने व्यवस्था पाउँछन्। शेयर बजारका विभिन्न विषयलाई छुट्टाछुट्टै पुस्तकका रूपमा राखिएकाले आफूलाई आवश्यक विषयबाटै अध्ययन सुरु गर्न सकिन्छ।
लगानी शिक्षामा जानको लागि यहाँ क्लिक गर्नुहोस्
उदाहरणका लागि टेक्निकल एनालिसिस सिक्न चाहनेले डाउ थ्योरी, हाइ–लो, अपट्रेन्ड, डाउनट्रेन्ड, सपोर्ट र रेजिस्टेन्स, क्यान्डलस्टिक प्याटर्न, चार्ट प्याटर्न, मुभिङ एभरेज, डाइभर्जेन्स, इन्ट्री, स्टप लस र टार्गेटजस्ता विषय क्रमशः अध्ययन गर्न सक्छन्। त्यस्तै फन्डामेन्टल एनालिसिसतर्फ कम्पनीको व्यवसाय, वित्तीय विवरण, ग्रोथ, प्रफिटेबिलिटी, विभिन्न फाइनान्सियल रेसियो, भ्यालुएसन, डिभिडेन्ड तथा कम्पनी तुलना गर्नेसम्मका विषय समेटिँदै गएका छन्।
विशेषगरी केवल कुनै शब्दको परिभाषा पढेर छाड्नेभन्दा पनि ‘यो किन महत्वपूर्ण हो?’, ‘चार्टमा कसरी चिन्ने?’, ‘कम्पनीको तथ्यांक हेर्दा के बुझ्ने?’ र ‘वास्तविक निर्णय गर्दा कसरी प्रयोग गर्ने?’ भन्ने पक्षलाई जोड दिइएको छ। आवश्यक ठाउँमा उदाहरण, तालिका, फर्मुला र चार्ट प्रयोग गरी विषयलाई व्यावहारिक रूपमा बुझाउने प्रयास गरिएको छ।
डिजिटल बुक मात्रै होइन, शेयर बजार सिक्ने पूरा प्लेटफर्म
‘लगानी शिक्षा’लाई केवल पुस्तक पढ्ने वेबसाइटका रूपमा सीमित गरिएको छैन। एउटै प्लेटफर्मभित्र शेयर बजार अध्ययन र अभ्यासका लागि विभिन्न सुविधा उपलब्ध गराइएको छ।
डिजिटल बुकसँगै प्रयोगकर्ताले ई–बुक, भिडियो सामग्री, क्विज, न्युजलेटर, टेक्निकल चार्टसम्बन्धी सामग्री, पोर्टफोलियो म्यानेजमेन्ट तथा अन्य अध्ययन उपकरण प्रयोग गर्न सक्छन्। यसले पढेको विषयलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी अर्को चरणमा अभ्यास गर्न सहयोग पुर्याउँछ।
प्लेटफर्ममा रहेको टीएमएस सिमुलेटरमार्फत वास्तविक पैसा जोखिममा नराखी शेयर किनबेचको अभ्यास गर्न सकिन्छ। बजारमा अर्डर कसरी राखिन्छ, खरिद–बिक्री गर्दा पोर्टफोलियोमा कस्तो प्रभाव पर्छ र आफ्नो रणनीति व्यवहारमा कस्तो देखिन्छ भन्ने बुझ्न यस्तो अभ्यास उपयोगी हुन सक्छ।
त्यस्तै उपलब्ध टेक्निकल एनालिसिससम्बन्धी सुविधाले चार्ट र विभिन्न इन्डिकेटर बुझ्न सहयोग गर्छ भने पोर्टफोलियोसम्बन्धी उपकरणबाट आफ्नो लगानीको अवस्थालाई व्यवस्थित रूपमा हेर्ने अभ्यास गर्न सकिन्छ।
हल्लाभन्दा पहिले ज्ञान
शेयर बजारमा सामाजिक सञ्जालको पोस्ट, साथीको सुझाव वा कुनै निश्चित शेयरको चर्चाका आधारमा निर्णय गर्नु सजिलो हुन्छ। तर पैसा लगाइसकेपछि बजारले सधैँ अपेक्षा गरेअनुसार व्यवहार गर्दैन।
कुनै कम्पनीको मूल्य बढिरहेको छ भन्दैमा त्यो सधैँ राम्रो लगानी हुँदैन। मूल्य घटेको शेयर सस्तो देखिँदैमा किन्न योग्य पनि हुँदैन। चार्टमा आएको एउटा सिग्नल वा एउटै वित्तीय अनुपातले पनि सम्पूर्ण निर्णय बताउँदैन। यही कारण शेयर बजारमा ‘कुन शेयर किन्ने?’ भन्दा पहिले ‘शेयर कसरी विश्लेषण गर्ने?’ सिक्नु महत्वपूर्ण हुन्छ।
लगानी शिक्षाको डिजिटल बुकले यही आधार तयार गर्ने प्रयास गरेको छ। एकैदिन सबै कुरा जान्नुपर्ने दबाब नदिई एउटा विषयबाट सुरु गरेर क्रमशः अर्को विषयतर्फ जान सकिने भएकाले दैनिक थोरै समय निकालेर पनि अध्ययन अगाडि बढाउन सकिन्छ।
पढ्ने, बुझ्ने अनि अभ्यास गर्ने
शेयर बजार सिक्ने क्रममा धेरैले एउटा समस्या भोग्छन्। भिडियो हेर्दा बुझेजस्तो लाग्छ, पोस्ट पढ्दा सजिलो लाग्छ, तर वास्तविक चार्ट वा कम्पनीको रिपोर्ट अगाडि आएपछि कहाँबाट विश्लेषण सुरु गर्ने भन्ने अन्योल हुन्छ। त्यसैले डिजिटल बुकमा विषयलाई क्रमबद्ध रूपमा राखिएको छ। पहिले आधारभूत अवधारणा बुझ्ने, त्यसपछि उदाहरण हेर्ने र अन्ततः त्यसलाई चार्ट, वित्तीय विवरण वा सिमुलेटरमार्फत प्रयोग गर्ने ढाँचामा अघि बढ्न सकिन्छ।
यसरी अध्ययन गर्दा उद्देश्य केवल शेयर बजारका शब्द कण्ठ गर्नु होइन, बजारले देखाइरहेको सूचना आफैँ बुझ्न सक्ने क्षमता विकास गर्नु हो।
शेयर बजार सिक्ने इच्छा छ भने सुरुवात कहाँबाट गर्ने?
शेयर बजारबारे केही पनि नजान्ने वा केही समयदेखि बजारमा रहेर पनि धेरै कुरा स्पष्ट नभएका दुवै प्रकारका प्रयोगकर्ताले आफूलाई आवश्यक विषयबाट डिजिटल बुक अध्ययन सुरु गर्न सक्छन्। चार्ट बुझ्न गाह्रो हुन्छ भने टेक्निकल एनालिसिसबाट, कम्पनी राम्रो वा कमजोर छुट्याउन समस्या हुन्छ भने फन्डामेन्टल एनालिसिसबाट, र खरिद बिक्रीको प्रक्रिया अभ्यास गर्न चाहनुहुन्छ भने टीएमएस सिमुलेटरबाट सुरु गर्न सकिन्छ।
शेयर बजारमा नाफाको कुनै निश्चित सूत्र हुँदैन र कुनै पनि अध्ययन सामग्रीले निश्चित प्रतिफलको ग्यारेन्टी गर्दैन। तर आफ्नो पैसा कहाँ र किन लगानी गर्दैछु भन्ने बुझेर निर्णय गर्ने बानी विकास गर्नु भने दीर्घकालीन रूपमा महत्वपूर्ण हुन्छ।


















share bazar ko gyan badne yo tarif garna layak ati important kam ho. ,many more thnx.