×
Lagani
Lagani Shiksha gif
ब्रोकरलाई सेबोनको कडा निर्देशन : समयमै पैसा दिनुपर्ने, रकम छुट्टै खातामा राख्नुपर्ने



नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकर कम्पनीहरूलाई धितोपत्र कारोबारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन ४ बुँदे निर्देशन जारी गरेको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले ग्राहकको रकम व्यवस्थापन, गुनासो समाधान, वित्तीय साक्षरता तथा कारोबारपछि रकम उपलब्ध गराउने विषयमा निर्देशन दिएको हो।

बोर्डको निरीक्षणका क्रममा केही धितोपत्र दलाल व्यवसायीले आफ्नो सञ्चालन तथा धितोपत्र कारोबारका लागि जम्मा हुने सम्पूर्ण रकम एउटै बैंक खातामार्फत परिचालन गरेको देखिएपछि ग्राहकको कारोबारसँग सम्बन्धित रकमलाई व्यवस्थित गर्न छुट्टाछुट्टै बैंक खाता प्रयोग गर्न निर्देशन दिइएको छ। प्रत्येक ग्राहकको धितोपत्र कारोबारसँग सम्बन्धित हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था रहेकाले ब्रोकरको आफ्नै सञ्चालनसम्बन्धी रकम र धितोपत्र कारोबारका लागि जम्मा हुने रकम फरक–फरक बैंक खातामार्फत परिचालन गर्नुपर्नेछ।

Lagani Shiksha gif
sharehubapk ब्रोकरलाई सेबोनको कडा निर्देशन : समयमै पैसा दिनुपर्ने, रकम छुट्टै खातामा राख्नुपर्ने

त्यस्तै, लगानीकर्ताका गुनासोलाई प्रभावकारी रूपमा व्यवस्थापन तथा न्यूनीकरण गर्न प्रत्येक धितोपत्र दलाल व्यवसायीले अनिवार्य रूपमा लगानीकर्ता गुनासो समाधान इकाइ गठन गर्नुपर्नेछ। उक्त इकाइको कार्य प्रक्रिया निर्धारण गर्नुपर्ने र गुनासो समाधानसम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट ब्रोकर कम्पनीविरुद्ध पर्ने लगानीकर्ताका गुनासोको व्यवस्थित अभिलेख र समाधान प्रक्रियामा सुधार हुने अपेक्षा गरिएको छ।

बोर्डले प्रत्येक धितोपत्र दलाल व्यवसायीलाई महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। साथै धितोपत्र कारोबारको टी प्लस दुई अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न भनिएको छ।

ब्रोकर कम्पनीलाई दिइएका ४ मुख्य निर्देशन

१. प्रत्येक ग्राहकको धितोपत्र कारोबारसँग सम्बन्धित हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था रहेकोमा बोर्डबाट निरीक्षणका क्रममा धितोपत्र दलाल व्यवसायीले सम्पूर्ण रकम एउटै बैंक खातामार्फत परिचालन गरेको देखिएकोले आगामी दिनमा धितोपत्र व्यवसायीको संचालन र धितोपत्र कारोबारको लागि जम्मा हुने रकम फरक फरक बैंक खाता प्रयोग गर्ने व्यवस्था मिलाउने।

२. महिनाको कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने ।

३. धितोपत्र कारोबार सम्बन्धी ग्राहकको गुनासोहरू नेपाल सरकार लगायत विभिन्न निकायमा पेश हुने गरेकोमा सोलाई प्रभावकारी व्यवस्थापन तथा न्यूनीकरण गर्न प्रत्येक धितोपत्र दलाल व्यवसायीले लगानीकर्ता गुनासो समाधान इकाइ अनिवार्यरूपमा गठन गरी कार्य प्रक्रिया (Workflow) तोक्ने र गुनासो समाधान सम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको तीन कार्यदिन भित्र बोर्डमा पेश गर्ने ।

४. धितोपत्र कारोबारको T+2 अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस