नेपाल धितोपत्र बोर्डले पूँजी बजारको कारोबार प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई विभिन्न सुधारका काम अघि बढाउन निर्देशन दिएको छ।
बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनमा पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा चालु आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यक्रममा तय भएका नियामकीय सुधार तथा विकास कार्यक्रमलाई निरन्तरता दिँदै धितोपत्र कारोबारसम्बन्धी प्रणाली सुधार गर्न निर्देशन दिएको हो। निर्देशनअनुसार कारोबार व्यवस्थापन प्रणाली र मेरो शेयरबीच एपिआई एकीकरण गरी स्वचालित ईडिआईएस प्रणाली लागू गर्ने व्यवस्थाका लागि आवश्यक कानुनी तथा संरचनागत सुधारसम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ।
त्यस्तै, धितोपत्र कारोबारको टी प्लस दुई अवधिमा लगानीकर्तालाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि बोर्डले निर्देशन दिएको छ।
लगानीकर्तालाई तत्काल सूचना पठाउने व्यवस्था
सिडिएससीमार्फत लगानीकर्तालाई विभिन्न धितोपत्र तथा कारोबारसम्बन्धी गतिविधिको तत्काल जानकारी दिने व्यवस्था गर्न बोर्डले भनेको छ। यसअन्तर्गत सार्वजनिक निष्कासनको सूचना, सार्वजनिक निष्कासनमा गरिएको आवेदन, बोनस तथा हकप्रद शेयर निष्कासन, लाभांश वितरण, कारोबार फर्छ्यौट, डिम्याट खाताबाट शेयर कट्टा तथा शेयरको रोक्का अवधिसम्बन्धी जानकारी पुश सूचनामार्फत उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेछ। यसले लगानीकर्ताले आफ्नो डिम्याट खाता तथा धितोपत्र कारोबारसँग सम्बन्धित गतिविधिको जानकारी समयमै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
टिएमएस र मेरो शेयरको शेयर संख्या मिलान गरिने
बोर्डले लगानीकर्ताको टिएमएसमा देखिने डिपी होल्डिङलाई सिडिएससी तथा मेरो शेयरमा रहेको वास्तविक शेयर होल्डिङसँग स्वचालित रूपमा मिलान गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। लगानीकर्ताको हितग्राही खाता पहिचान नम्बरअनुसार शेयरको संख्या, डिपीको विवरण तथा बोनस शेयर, हकप्रद शेयर, शेयर हस्तान्तरणलगायतका संस्थागत गतिविधिपछि कायम हुने शेयर होल्डिङ स्वतः अद्यावधिक हुने प्रणाली विकास गर्न भनिएको छ। यसका साथै मेरो शेयर प्रणालीमार्फत कारोबारको वास्तविक समयको फर्छ्यौट अवस्था देखाउने ड्यासबोर्ड विकास गर्न पनि निर्देशन दिइएको छ।
भिन्नात्मक शेयरसम्बन्धी गुनासो समाधान गर्न अध्ययन
बोर्डले लगानीकर्ताबाट प्राप्त हुँदै आएका भिन्नात्मक शेयरसम्बन्धी गुनासोलाई व्यवस्थित रूपमा समाधान गर्न आवश्यक अध्ययन गर्न पनि सिडिएससीलाई निर्देशन दिएको छ।भिन्नात्मक शेयरसम्बन्धी समस्या समाधानका लागि आवश्यक व्यवस्था तथा सुधारका उपाय समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न बोर्डले भनेको छ।
पूँजी बजारमा कारोबार, फर्छ्यौट, डिम्याट तथा संस्थागत गतिविधिसँग सम्बन्धित प्रणालीलाई थप स्वचालित र पारदर्शी बनाउने उद्देश्यले दिइएको उक्त निर्देशन कार्यान्वयन भएपछि लगानीकर्ताले कारोबार तथा आफ्नो शेयर होल्डिङसम्बन्धी जानकारी अझ सहज र समयमै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।














