पोखराको रुपाकोट रिसोर्टले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। यो नियुक्तिले रुपाकोट रिसोर्टको व्यावसायिक विस्तार र नेपाली पूँजीबजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडीईए टु आईपीओ’ सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरूलाई स्थापना कालदेखि नै आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। यस सेवामार्फत कम्पनीहरूलाई कानूनी, वित्तीय र प्राविधिक रूपमा सबल बनाउनुका साथै लगानीकर्ताहरूमाझ विश्वासको वातावरण सिर्जना गर्न मद्दत पुग्छ।
पोखरा, कास्कीमा अवस्थित रुपाकोट रिसोर्ट, नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा एक प्रमुख गन्तव्यको रूपमा चिनिन्छ। यस रिसोर्टको प्रमुख आकर्षण प्राकृतिक सौन्दर्य, शान्त एवं रमणीय वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य, र रुपा तथा बेगनास तालको मनमोहक दृश्यावलोकन गर्न सकिने विशिष्ट भौगोलिक अवस्थिति हो।
पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्ने उद्देश्यका साथ रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन र विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रिसोर्टले राखेको छ। यसका लागि रिसोर्टले आफ्नो सेवाहरूलाई निरन्तर विस्तार गर्दै आइरहेको छ।
आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशको उत्कृष्ट सन्तुलन कायम गर्दै रुपाकोट रिसोर्टले पाहुनालाई आरामदायी र अविस्मरणीय आतिथ्य अनुभव प्रदान गरिरहेको छ। रिसोर्टमा उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम, र विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत आकर्षक गन्तव्यको रूपमा स्थापित गरेको छ। आईपीओ निष्काशनपछि यस रिसोर्टको विकासले थप गति लिने विश्वास गरिएको छ।












