विगत नौ वर्षदेखि काठमाडौंमा ठूला बस तथा उपत्यकाबाहिर ईभी माइक्रोबसमार्फत सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको महानगर यातायातले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ।
बाहिरका व्यवसायीलाई समेत समेटेर सेयर प्रणालीमार्फत व्यवसाय विस्तार गर्ने र आवश्यक आर्थिक तथा कानुनी मापदण्ड पूरा गरी आईपीओमा जाने रणनीति कम्पनीले बनाएको हो। महानगर यातायातका सञ्चालक समिति सदस्य धर्म रिमालका अनुसार आईपीओसम्बन्धी तयारी प्रारम्भिक चरणमा रहेको छ। हाल भइरहेको लगानीलाई निरन्तरता दिँदै थप नयाँ गाडी भने आईपीओ निष्कासनपछि खरिद गर्ने योजना कम्पनीको छ।
काठमाडौं उपत्यकामा चक्रपथ परिक्रमा गर्ने रुटमा महानगर यातायातले हाल ८८ वटा डिजेलबाट चल्ने ठूला यात्रुबाहक गाडी सञ्चालन गरिरहेको छ भने पछिल्लो समय विद्युतीय सवारीमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ। गत वर्ष १२ वटा चेरी वान्डा ब्रान्डका ठूला ईभी बस सञ्चालनमा ल्याएको कम्पनीले थप १६ वटा बस थपेर कुल संख्या २८ पुर्याएको छ र ती सबै बसले दैनिक रूपमा चक्रपथमा सेवा दिइरहेका छन्। कम्पनीले उपत्यकाबाहिर पनि सेवा विस्तार गरिसकेको छ। विगत साढे दुई वर्षदेखि पोखरा र चितवनका लागि हाइगर कम्पनीका १५ र २२ सिट क्षमताका कुल २२ वटा विद्युतीय माइक्रोबस सञ्चालन भइरहेका छन् भने काठमाडौंभित्र पनि तीन वटा ईभी माइक्रो चलिरहेका छन्। कम्पनीले काठमाडौं–पोखरा रुटका लागि १६ सिट क्षमताका थप ३० वटा ईभी माइक्रोबस ल्याएर लामो दूरीको सेवा विस्तार गर्ने तयारीसमेत गरेको छ।
रिमालका अनुसार डिजेल गाडीको तुलनामा विद्युतीय सवारीको खरिद मूल्य करिब दोब्बर महँगो भए पनि इन्धन खर्चमा हुने ठूलो बचतका कारण ईभीप्रतिको आकर्षण बढेको छ। कम्पनीले चिनियाँ कम्पनीका स्तरीय गाडी भित्र्याएर सेवा विस्तार गरिरहेको उनले बताए। यद्यपि ईभी सवारी अझै परीक्षणकै चरणमा रहेकाले चुनौतीहरू कायमै छन्। विशेषगरी ब्याट्री र मोटरको लागत उच्च रहेको छ। ब्याट्रीका लागि करिब ४० देखि ४५ लाख रुपैयाँ र मोटरका लागि १६ देखि १७ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने तथा पाटपुर्जामा एकमुष्ट ठूलो रकम लाग्ने अवस्था आउन सक्ने रिमालको भनाइ छ। यस्ता सामग्री आयात गर्दा रकम नेपालबाट बाहिरिने भएकाले आयातपछि पनि परनिर्भरता कायम रहने अवस्था रहेको छ।
ईभी क्षेत्रका लागि पर्याप्त प्राविधिक जनशक्तिको कमी, लामो समयसम्म पनि स्पष्ट मर्मतसम्भार नीति बन्न नसक्नु तथा सरकारसँग विद्युतीय सवारीसम्बन्धी दीर्घकालीन दृष्टिकोणसहितको स्पष्ट नीति नहुनु प्रमुख चुनौती रहेको रिमालको तर्क छ। हाल महानगर यातायातसँग आफ्नै नाममा १६ वटा सवारी छन् भने व्यक्तिगत तवरमा कम्पनीमार्फत सञ्चालन हुनेसहित ८२ वटा सवारीसाधन रहेका छन्। दुवै तहबाट सञ्चालन भइरहेका करिब १०० हाराहारीका सवारीसाधनमार्फत कम्पनीले बजारमा आफ्नो उपस्थिति स्थापित गर्न सकेको रिमालको बुझाइ छ।














