कुमारी क्यापिटल लिमिटेडले व्यवस्थापनमा रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गतका चार योजनाका इकाईधनीहरूलाई वितरण हुने लाभांश घोषणा गरेको छ।
यसअन्तर्गत, कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरूले करसहित १० प्रतिशतका दरले नगद लाभांश प्राप्त गर्नेछन्। त्यसैगरी, कुमारी सबल योजनाका इकाईधनीहरूलाई करसहित २.९० प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ।
यस्तै, कुमारी सुनौलो लगानी योजना (SIP) का इकाईधनीहरूलाई पनि आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित ४.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ। साथै, उक्त योजनामा सहभागी इकाईधनीहरूले प्राप्त लाभांशलाई पुनः सोही योजनामा लगानी गर्न सक्ने Dividend Reinvestment Plan (DRIP) को सुविधा पनि उपलब्ध गराइएको छ।
साउन २१ गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरणका लागि कुमारी इक्विटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाले भदौ ४ गते (बिहीबार) एक दिनका लागि बुकक्लोज गर्नेछन्। त्यसैले भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
त्यसैगरी, कुमारी सुनौलो लगानी योजना (SIP) ले पनि लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गर्ने जनाएको छ। योजनाको सूचनाअनुसार साउन २० गतेसम्म कायम रहेका इकाईधनीहरू मात्र लाभांशका हकदार हुनेछन् भने लाभांश पुनः लगानी (DRIP) मा सहभागी हुन चाहने इकाईधनीहरूले तोकिएको अवधिभित्र आवेदन दिनुपर्नेछ।
कुमारी क्यापिटलको यो घोषणाले योजनाका इकाईधनीहरूलाई आकर्षक प्रतिफल प्रदान गर्नुका साथै दीर्घकालीन लगानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।















