नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई जलविद्युत् कम्पनीको आईपीओ एकैदिन सूचीकृत भएको छ।
सूचीकृत हुने कम्पनीहरूमा सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेड रहेका छन्। दुवै कम्पनीको सेयर अब दोस्रो बजारमा कारोबारका लागि तयार भएको छ। सानिगाड हाइड्रो लिमिटेडको कुल २ करोड ८५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको कारोबार संकेत (सिम्बोल) SGHL रहनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ प्राइस रेञ्ज निर्धारण गरेको छ। यही मूल्य सीमाभित्र बिहीबार हुने स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार हुनेछ।
त्यसैगरी, कालंगा हाइड्रो लिमिटेड को १ करोड ४० लाख कित्ता सेयर पनि नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको कारोबार संकेत KAHL रहनेछ। पहिलो कारोबारका लागि नेप्सेले ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्म ओपनिङ प्राइस रेञ्ज तोकेको छ। कम्पनीको पहिलो कारोबार पनि बिहीबार स्पेशल प्रि–ओपन सेसनमै सम्पन्न हुनेछ।
नेप्सेमा कुनै नयाँ कम्पनी सूचीकृत भएपछि पहिलो कारोबार विशेष प्रि–ओपन सेसनमार्फत हुने व्यवस्था छ। सो अवधिमा खरिद–बिक्री आदेशका आधारमा पहिलो कारोबार मूल्य निर्धारण गरिन्छ। त्यसपछि सम्बन्धित कम्पनीको नियमित कारोबार दोस्रो बजारमा सुरु हुने प्रक्रिया अगाडि बढ्छ।
दुवै कम्पनीको आईपीओ सूचीकृत भएसँगै प्राथमिक बजारबाट सेयर प्राप्त गरेका लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्ने अवसर पाउने भएका छन्।
















