साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको २१ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले यस प्रस्तावका लागि चैत १२ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो, र सोही दिन बसेको आयोगको बैठकले यसलाई पूर्वस्वीकृति प्रदान गरेको हो। नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनको निवेदन पेश गर्नुअघि विद्युत नियमन आयोगको पूर्वस्वीकृति अनिवार्य रहेको छ।
हकप्रद शेयर निष्कासनबाट संकलन गरिने रकम टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित ३४०.४२३ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिनेछ। कम्पनीले गत मंसिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट यस हकप्रद निष्कासनको प्रस्तावलाई यसअघि नै पारित गरिसकेको छ।
यस वर्ष साहस उर्जाले कुल २२.१० प्रतिशत लाभांश वितरण गरेको छ। यसमा २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश समावेश छ। गत आर्थिक वर्षदेखि लाभांश वितरणमा आएको यस कम्पनीले गत वर्षको तुलनामा यस वर्ष लाभांश दर वृद्धि गरेको हो। गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत गरी जम्मा ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९० करोड ४८ लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ। सोही अवधिमा कम्पनीको जगेडा कोष ३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७२ पैसा छ।










