होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा फाल्गुन ०४ गते, २०८२ मा उक्त शेयरको बाँडफाँड गरिएको हो। कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २ लाख कित्ता सामूहिक लगानी कोषलाई र ८० हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको थियो। सर्वसाधारणबाट मागभन्दा बढी आवेदन परेकाले शेयरको बाँडफाँड गोलाप्रथाको माध्यमबाट गरिएको छ।
बिक्री प्रबन्धकका अनुसार, प्राप्त आवेदनहरूमध्ये रीतपूर्वक आवेदन दिने कुल २३ लाख ७१ हजार ३१५ जना योग्य आवेदकहरूलाई गोलाप्रथामा सहभागी गराइएको थियो। गोलाप्रथाबाट ३ लाख ३२ हजार जना सफल आवेदकहरू छनौट गरी प्रत्येकलाई १० कित्ताका दरले शेयर वितरण गरिएको छ। दोहोरो आवेदन दिएका, वैदेशिक रोजगारीको कोटामा परेका तर रीत नपुगेका तथा संस्थापक शेयरधनीहरू लगायत विभिन्न कारणले गर्दा ३३ हजार १६२ जनाको आवेदन भने रद्द भएको थियो।
लगानीकर्ताहरूले आफ्नो आईपीओको नतिजा विभिन्न तीनवटा वेबसाइटहरू मार्फत हेर्न सक्नेछन्। नतिजा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटलको वेबसाइट सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आधिकारिक आईपीओ नतिजा हेर्ने वेबसाइट तथा मेरोशेयर बाट सजिलै हेर्न सकिने व्यवस्था मिलाइएको छ।






