


सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ)ले रेटिङ पाएको छ ।
कम्पनीको उक्त साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।
कम्पनीकाे माघ ६ गते, मंगलबार सर्वाेत्तम सिमेन्टको सभा हल, न्याैपानेटावर, तिनकुने, काठमाडाैँमा सम्पन्न भएकाे दाेश्राे वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।
सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ भने नवलपरासीमा उद्योग रहेको छ । चितवनको चुनढुंगा मिश्रणबाट उत्पादित क्लिंकर (धातुमल सिमेन्ट) देशका अन्य २० वटा उद्योगहरुले खरिद गर्ने गरेका छन् । यस उद्योगको वार्षिक उत्पादन क्षमता १०२५ करोड बोरा रहेको छ ।
सर्वसाधारणले बुक विल्डिङ्ग विधिबाट आइपिओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै, न्यूनतम बाँडफाँड हुने कित्ता पनि ५० नै रहनेछ । २०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । चालु आर्थिक वर्षभित्रै शेयर निष्कासन गरिसक्ने कम्पनीको योजना छ ।