बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । जस मध्य १० प्रतिसत अर्थात् ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कासन गरिनेछ। कम्पनीले पहिलो चरणमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ विक्री गर्न लागेको छ ।
लगानीकर्ताले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ ।आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।