नेप्सेमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर सुचिकृत भएको छ।
कम्पनीको १ करोड ३५ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले संस्थापक तर्फको ७५ दशमलव ५ प्रतिशत र सर्वसाधारण तर्फको स्थानीयमा वितरण गरिएको १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणमा जारी गरिएको १४ दशमलव ५ प्रतिशत शेयर सूचीकृत गराएको हो ।
नेप्सेले यूएसएचईसी (USHEC) संकेतबाट कम्पनीको शेयर कारोबार खुला हुने गरी पहिलो कारोबारका लागि खुला मूल्य प्रतिकित्ता न्यूनतम रू. १०८ दशमलव २१ देखि अधिकतम रू. ३२४ दशमलव ६३ सम्म तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रारको सेवा एनएमबि क्यापिटलले दिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि असार २० गतेदेखि २३ गतेसम्म १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । यस कम्पनीको आर्थिक वर्ष ०७७/७७ सम्म सञ्चित नाफा रू. ८ करोड ३६ लाखभन्दा बढी छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव २१ छ ।
यस कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत २०७८ फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणालीमार्फत पूर्णरूपमा विक्री भइरहेको छ । हाल कम्पनीमा संस्थापकतर्फ चुक्ता भएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी रू. १ अर्ब १ करोड ९२ लाख ५० हजार छ ।











