पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आफ्नो जारी पूँजी रू. ६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त निस्कासन मध्य इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर छुट्टाइएको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदकले प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा , ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयरका लागि छिटोमा असार २२ गते सम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिने छ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।













