खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ ।
नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । खुद्रा व्यापारीले पुरानै चिनी ११० देखि १२० रुपैयाँसम्ममा बेच्न थालेपछि उपभोक्ताहरू मरमा परेका छन् । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ ।
सरकारले भने भारतले निर्यातमा रोक लगाएपछि ६ महिनाका लागि पुग्नेगरी नेपालमा नै चिनी रहेको दावी गरेको थियो ।यता नेपाल चिनी उद्योग संघले भने बजारमा उद्योगबाट चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दावी गरेको छ । चिनीको महँगीमा सरकारल हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुले बताएका छन् ।
होलसेलमा ९५ रुपैयाँ माथि पुगेपछि खुद्रा मूल्य बढ्नु स्वभाविक भएको नेपाली व्यापारीहरुको भनाई छ । अहिले बजारमा चिनी अभाव सृजना गरिएको छ । व्यापारीहरुले चिनी घरभित्र लुकाएका छन् । बढी मूल्य तिर्न तयार भए चिनी बिक्रि गर्ने तर कम मूल्यमा खरिद गर्न खोजे आफूसँग नभएको भन्दै पठाउने गरेको गुनासो उपभोत्ताहरुको छ ।












