नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्।
अझ विशेषगरि सुदूरपश्चिमको हकमा सहमति अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टीलाई क्रियाशील नगरिएको भन्दै एमाले उपाध्यक्ष भीम रावल असन्तुष्ट बनेका छन्।
केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उक्त बैठकमा पनि ठोस सहमति भने भएन। तेस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।
आइतबार बैठकमा केहीबेर सहभागी भएका उपाध्यक्ष भीम रावल भने बाहिरिएका छन्। उनले प्रतिक्रिया दिन मानेनन्। तर, उनीनिकट एक नेताले भने अहिले उपाध्यक्ष रावल नबोलेर सहमति लागू हुन्छ कि हुन्न भन्नेमा पर्खिरहेको बताउँछन्।
`उहाँ अहिले मौन बस्ने र समय आएपछि बोल्ने भन्नेमा हुनुहुन्छ,´ ती नेता भन्छन्, `कहिलेकाहीँ मौन बसेर गतिविधिलाई हेर्नुपनि पर्छ।´
एमालेमा ७० वर्षे उमेर हद कायमै, उपाध्यक्ष संख्या ओलीले निर्धारण गर्ने- नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ ।
ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् । पौडेल विधान संशोधन कार्यदलका संयोजक हुन् ।
शनिबार समूहगत छलफल सकिएपछि आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यसक्रममा विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा धेरैजसो नेताहरुले केन्द्रीय पदाधिकारीहरूमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद हटाउनुपर्ने सुझाव दिएका थिए । तर, जवाफ दिने क्रममा उपमहासचिव समेत रहेका पौडेलले भने ‘७० वर्षे उमेर हद कायमै राखिने भएको छ’, जवाफ दिएका थिए ।
‘यसबारे विधान महाधिवेशनले निर्णय गरे बेग्लै कुरा हो तर अहिले यसलाई कायमै राखिनेछ’, पौडेलको भनाइ छ । त्यस्तै उनले केन्द्रीय उपाध्यक्षमा तीन जना रहने भन्ने प्रस्तावका बारेमा अध्यक्षले जवाफ दिने बताए ।
प्रस्तावित विधानमा तीनजना उपाध्यक्ष रहने व्यवस्था रहेको थियो । तर सुझावका क्रममा नेताहरुले ५ देखि सातजना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । हाल एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्था छ ।
















