×
Lagani
Lagani Shiksha gif
आइपियो जारि गर्दै गोल्डस्टार , तपाइको भागमा कति पर्ला ?



ठुलो लगानी बिना गोल्डस्टारलाई अझै माथिल्लो स्तरसम्म लग्न नसकिने भएकोले गोल्डस्टारले आइपिओ खोल्ने भएको छ। ‘हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो?”उस्तै उस्तै हो नानु।’ चालीस वर्षअघि रेडियो नेपालको यो विज्ञापन जसरी मान्छेको जिब्रोमा झुन्डिएको थियो, हात्तीछाप चप्पलले पनि बजारमा उस्तै धूम मच्चाएको थियो।

तर, त्यति बेला थाइल्यान्डबाट मेसिन ल्याएर चप्पल उत्पादन सुरू गर्नु नूरप्रताप राणाका लागि सजिलो काम थिएन। मेसिन ल्याउनदेखि कारखाना खोल्ने अनुमति लिन र कामदार खोज्नदेखि बजार प्रवर्द्धनसम्म उनले निकै हन्डर बेहोरे, जसको चर्चा उनी पछिसम्म परिवारका सदस्यहरूमाझ गरिरहन्थे।

नूरप्रतापले हमेशा सुनाइरहने हात्तीछाप चप्पलको रचनागर्भ र संघर्ष यात्राका साक्षी उनकै बुहारी विदुषी राणासमेत हुन्। ‘बुवालाई त्यो समय हेटौंडामा चप्पल कारखाना खोल्नै नौ महिना लाग्यो रे,’ गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषीले सेतोपाटीसँग भनिन्, ‘उहाँले त्यति बेला जुन हन्डर भोग्नुभयो, त्यही संघर्षमा खारिएर हामी यहाँसम्म आइपुगेका हौं।’

यति भनेर विदुषी गोल्डस्टारको सुरूआती दिनतिर फर्किइन्। २०४७ सालसम्म आइपुग्दा हात्तीचप्पलको लोकप्रियता चुलिइसकेको थियो। नेपालका सहरदेखि गाउँसम्म चप्पल भन्नु नै हात्तीछाप चप्पल हो भन्ने आमबुझाइ थियो। यही सफलताबाट हौसिएर नूरप्रतापले चप्पलबाट जुत्तातिर खुट्टा लम्काए।

उनले जुत्ता उत्पादन गर्ने मेसिन भित्र्याए र ‘स्पार्क’ नामको स्पोर्ट्स सुजबाट जुत्ता कारखानाको नीब हाले। स्पार्कले सोचेजस्तो बजार लिएन। नूरप्रताप यसबाट हरेश खाएनन्। उनले ‘गोल्डस्टार’ ब्रान्डको नयाँ जुत्ता उत्पादन सुरू गरे। गोल्डस्टार जुत्ताले कम समयमै हात्तीछाप चप्पलजस्तै बजार पिट्यो। कुनै पनि सफलता चिरस्थायी हुँदैन।

एउटा रफ्तारका साथ सफलतातर्फ बढिरहेका बेला २०५२ सालमा सुरू माओवादी द्वन्द्वले गोल्डस्टारको यात्रामा ठूलो झट्का दियो। यो झट्का जुत्ता नबिकेर वा जुत्ताको बजार खस्केर आएको थिएन। बरू माओवादी द्वन्द्व सुरू भएपछि त गोल्डस्टारको माग अझ बढेको थियो।

बलियो र टिकाउ भएकाले विकट पहाडी बाटोमा उकाली-ओराली गर्न माओवादी लडाकूहरूले गोल्डस्टार जुत्ता नै प्रयोग गर्न थालेका थिए। यति मात्र होइन, मूल्य सस्तो भएकाले ग्रामीण भेगमा सर्वसाधारणको रोजाइमा समेत परेको थियो। माओवादी द्वन्द्वले जुत्ताको बजार त बढ्यो, तर यसको छवि धूमलियो।

माओवादीले बम बनाउने त्रासमा सरकारले काठमाडौंबाहिर प्रेसरकुकर बेच्न प्रतिबन्ध लगाएजस्तै लडाकूहरूले बढी प्रयोग गरेकै कारण गोल्डस्टार जुत्तामाथि ‘माओवादी जुत्ता’ को ट्याग लाग्यो। सुरक्षाकर्मीहरूले गोल्डस्टार जुत्ता बिक्रीमा कडिकडाउ गर्न थाले। पहिले उत्पादनको झन्डै ८० प्रतिशत भारत निर्यात गरिरहेको गोल्डस्टारले अहिले ३०-४० प्रतिशत मात्र पठाउँछ।

निर्यात धेरै भएकैले पहिले गोल्डस्टारले नेपाली बजारमा त्यति ध्यान पनि दिएन। तर जसै उता पठाउने क्रम स्वाट्टै घट्यो, विदुषीले श्रीमान अमिरलाई जुत्ताको मार्केटिङ र ब्रान्डिङ गर्न सुझाइन्। अमिरले भने गोल्डस्टार सबैलाई थाहा भइसकेकाले विज्ञापन आवश्यक नरहेको बताए।

६ वर्ष कुमारी बैंकमा मार्केटिङ र ब्रान्डिङ सम्हालेकी विदुषीले अमिरलाई सोधिन्- ‘कोकाकोलाको नाम सबैलाई थाहा छ तर किन विज्ञापन गर्छ त?’ त्यसको जवाफ अमिरसँग थिएन। विदुषी आफैंले दिइन्, ‘गोल्डस्टार नाम मात्र थाहा पाएर हुँदैन, मान्छेले सम्झिराख्ने बनाउनुपर्छ।’

यसपछि विदुषी आफैंले गोल्डस्टार ब्रान्डिङमा काम गर्ने भनिन्। उनले एउटा टिम बनाइन् र बजार अध्ययन गरिन्। अध्ययनबाट आएको तथ्य गोल्डस्टारका लागि टर्निङ प्वाइन्ट बन्यो। अबको केहि वर्षमा गोल्डस्टारलाई अझै ठुलो ब्रान्ड बनाउने सपना बोकेकी विदुषीले गोल्डस्टारको आइपिओ छिटैनै खोल्ने बताएको छिन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस