×
Lagani
Lagani Shiksha gif
भुक्तानीमा आलटाल गरेको भन्दै ३७ नम्बर ब्रोकर विरुद्ध उजुरी



सेयर बिक्री गरेको रकम भुक्तानी गर्न ब्रोकर कम्पनीहरुले आलटाल गरेका छन् । भुक्तानीमा आलटाल गरेको भन्दै ३७ नम्बर ब्रोकरविरुद्ध उजुरीसमेत परेको छ ।

नियामक निकाय धितोपत्र बोर्डले सेयर कारोबारमा ‘टी प्लस टू’ लागू गरेको छ । सेयर कारोबारमा टि प्लस टू भनेको कारोबार भएको दुई दिनभित्रै राफसाफ गर्नु पर्ने नियम हो ।बोर्डले टी प्लस टू लागू गर्न निर्देशन दिए पनि ब्रोकर कम्पनीहरुले सेयर बिक्री गरेको महिना दिनसम्म पनि रकम नदिने गरेको पाइएको छ । ब्रोकर नम्बर ३७ (स्वर्णलक्ष्मी सेक्युरिटिज प्रालि)ले रकम दिन एक महिनासम्म ढिलाइ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा उजुरी परेको छ ।

Lagani Shiksha gif

हेटौंडा निवासी एक पीडितले नियम कानून विपरीत लामो समयसम्म भुक्तानी नपाउँदा आफूले थप आर्थिक क्षति व्यहोर्नु परेको भन्दै क्षतिपूर्ति समेत माग गरेका छन् । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड हो । ब्रोकर कम्पनीहरुले बद्मासी गरेको जानकारी पाए बोर्डले नै कारबाही गर्न सक्छ ।

तर बोर्डको कार्यालय ललितपुरमा भएको र हेटौैंडाबाट आउन समस्या परेका कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरमै आवश्यक कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको पीडित रमेश पण्डितले बताए । उनले बोर्ड नेप्सेमा समेत मौखित उजुरी दिएको बताएका छन् । तर बोर्डले हालसम्म कुनै एक्सन लिएको छैन ।

‘ब्रोकरले धम्कायो’

पण्डितले साढे दुई वर्ष अघिदेखि सेयर कारोबार गर्दै आएका छन् । सेयर बिक्री गरेको लामो समयदेखि ब्रोकर कम्पनीले भुक्तानी गर्न ढिलाइ गर्दै आएको थियो । धितोपत्र बोर्डले टी प्लस टू लागू भएको सूचना निकालेपछि रमेश खुसी भए ।

लामो मसयसम्म भुक्तानीका लागि कुर्न बाध्य भएका उनी सेयर बिक्री गरेको केही दिनमै रकम पाइने आश उनमा थियो । तर उनलाई ब्रोकर कम्पनीले भुक्तानी नदिएर निराशमात्रै बनाएर आर्थिक चापका कारण तनाव समेत झेल्नु पर्‍यो ।

 

‘पैसाको खाँचो परेर सेयर बिक्री गरको थिएँ, समयमा भुक्तानी नपाउँदा निकै समस्या झेल्नु पर्यो,’ आललाइनखबरसँग पण्डितले भने, ‘बरु मलाई उल्टै खाता बन्द गरेर जानुस् भनियो, यतिसम्मकी जे गर्न सक्नुहुन्छ गर्नुस् भनेर चेतावनी समेत दिइएको छ ।’

सेयर बिक्री गरेको रकम ब्रोकर कम्पनीले बैंक लगानीकर्ताको खातामा सीधै जम्मा गरिदिनु पर्ने नियम छ । तर आफ्नो रकम लिन पनि कयौं पटक ब्रोकर अफिस धाएको उनले सुनाए । ब्रोकर नम्बर ३७ को प्रधान कार्यालय काठमाडौंमा पनि उनले पटकपटक सम्पर्क गरे ।

चाँडै आउँछ भन्दाभन्दै पनि एक महिनासम्म उनले भुक्तानी पाएनन् । ‘एक पटक त हामी अफिस पुगेको देखेपछि झ्याल ढोका नै बन्द गरेर बस्नु भयो, आफ्नै रकम लिन जाँदा पनि कति धेरै सास्ती !’ उनले भने ।

उनीमात्रै होइन हेटौंडाकै प्रविणकुमार प्रसाईंले पनि ब्रोकर नम्बर ३७ बाट बिक्री गरेको सेयरको रकम पाउन निकै सास्ती खेप्नु परेको सुनाए । महिना दिनसम्म पनि भुक्तानी नदिने र मेरो रकम किन आएन भन्दा उल्टै हाम्रोमा कारोबार नगर्नू भनेर भन्ने गरेको प्रसाईं बताउँछन् ।

पण्डित र प्रसाईं प्रतिनिधि पात्रमात्रै हुन्, उनीहरु जस्ता धेरैलाई यो कम्पनीले रकम भुक्तानीमा सास्ती दिने गरेको छ ।

सीडीयो भन्छन्- कारबाही प्रक्रिया अघि बढ्यो

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले लामो समयसम्म भुक्तानी नपाएको उजुरी आफूकहाँ आएको बताए । उनका अनुसार क्षतिपूर्ति समेत माग गर्दै उजुरी गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयमा आएको यस किसिमको उजुरी विल्कुल नयाँ भएको सीडीओ रिजालले बताए ।

उजुरी नयाँ भएको र धितोपत्र बोर्डको कार्यक्षेत्र भित्र भएका कारण के कारबाही हुनसक्छ भन्ने कुरा अहिले भन्न नसकिने उनले बताए । उजुरी माथिको कारबाही भने अघि बढेको उनले बताए ।अब पीडक भनिएको पक्ष ब्रोकर कम्पनीलाई समेत राखेर छलफल गराइने उनले बताए ।

‘अहिले त एक पक्षको उजुरी आएको छ, केकसो हो भनेर दुबै पक्षलाई राखेर छलफल गराउँछौं,’ सीडीओ रिजालले अनलाइनखबरसँग भने, ‘अब कारबाहीको विषयमा भने हामीले भन्दा पनि पनि नेपाल स्टक एक्सचेञ्ज वा धितोपत्र बोर्डले हेर्ने होला ।’

तत्कालै भुक्तानी हुने व्यवस्था गर्छौंः बोर्ड अध्यक्ष

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भुक्तानी ढिलो भएको भनेर बोर्डमा उजुरी नआएको बताए । सीडीयो कार्यालयमा भन्दा पनि बोर्डमै उजुरी गरेको भए राम्रो हुने उनको भनाइ छ ।

तर यो विषयमा बोर्डमा जानकारी आए तत्कालै भुक्तानी दिने व्यवस्था गरिने उनले बताए । नीति नियम विपरीत गएर ब्रोकरहरुले भुक्तानीमा ढिलाइ गरेको पाइए कारबाही हुने उनले बताए । तर अहिले उजुरी नपरेको र वास्तविकता समेत बुझ्न बाँकी रहेकाले अहिले नै केही भनिहाल्न नसकिने उनले बताए ।

‘कहिलेकाहीँ लगानीकर्ता र ब्रोकरबीच सम्झौता पनि भएको हुनसक्छ, उहाँहरुको सम्झौता छ भने ठीकै छ नत्र मैले बेचेको पैसा चाहियो भनेपछि दिनैपर्छ,’ अध्यक्ष ढुंगानाले भने, ‘महिनौ लगाउने भए टी प्लस टू लागू गरिएको अर्थै भएन नि, उहाँहरुले उजुरी गर्नुपर्‍यो, आवश्यक प्रक्रिया अघि बढ्छ ।’

अनलाइन खबर बाट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस