×
Lagani
Lagani Shiksha gif
गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन



नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ ।

तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा रु ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो । होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । बाह्र वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएका चलचित्रकर्मी धु्रव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो । गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् ।

Lagani Shiksha gif

यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै रु ११ करोडको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताउनुभयो । पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै नेपालकै केन्द्रमा पर्ने गैँडाकोटमा समेत पर्यटनको ठूलो सम्भावना देखिएका कारण उहाँले पाँच वर्षको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।

ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताउनुभयो । सो होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ । एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै न्यौपानेले एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिनुभयो ।

नेपाली, चाइनिज, इण्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताउनुभयो । रु ५०० देखि दुई हजार २०० सम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उहाँले बताउनुभयो । होटलमा स्विमिङ पुल (पौडी पोखरी)को तयारीसमेत भइरहेको उहाँको भनाइ छ । होटलका व्यवस्थापक हरि पौडेलले होटललाई जिल्लाकै उत्कृष्ट होटलका रूपमा स्थापित गर्दै लैजाने बताउनुभयो ।

होटलमा प्रत्यक्षरूपमा १६ जनाले रोजगार पाएको पौडेलको भनाइ छ । होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिने उल्लेख गर्दै पौडेलले यसबाट स्थानीय उत्पादनको प्रवद्र्धन हुने बताउनुभयो । सो होटलको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले गर्नुभएको थियो । शनिबार होटल उद्घाटनका क्रममा ढकालले लगानीको वातावरण गराउन राज्यले समेत सोहीअनुरुपको नीति ल्याउनुपर्ने बताउनुभयो । होटलले गुणस्तर र सेवाग्राहीको इच्छाअनुसारको सेवा, सुविधा उपलब्ध गराउनुपर्ने ढकालको भनाइ थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस