साताको कारोबारको पहिलो नेपाली शेयर बजारमा खुशीयाली छाएको छ । केही समयदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से यस दिन भने ६३ अंकले बढेको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढेर २५३८.४६ विन्दुमा पुगेको छ। यसैगरी सेन्सेटिभ इण्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ।
यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएको छन्।
कारोबारमा आएका ९ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्।
यस दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, समिट माइक्रोफाइनान्स, चन्द्रगिरी हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त र युनाइटेड इदी मार्दीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
गत साता मात्र सूचीकृत भइ कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य यस दिन ६.०६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन कारोबारमा रहेका सबै उपसमूहहरुमा हरियाली छाएको छ ।










